Logo

प्रमुख समाचार

बालेनको भारत भ्रमण : सीमा विवाद ओझेलमा, सहमति कार्यान्वयनमा आशंका



काठमाडौं । प्रधानमन्त्री बालेन शाहको दुईदिने भारत राजकीय भ्रमण सम्पन्न भए पनि वर्षौंदेखि थाती रहेका नेपाल–भारतका महत्वपूर्ण मुद्दाले प्राथमिकता पाउन सकेनन्। विशेषगरी कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्तासम्बन्धी सीमा विवादमा प्रधानमन्त्री शाहले भारतीय पक्षसँग कुरा नउठाएको भन्दै प्रश्न उठेको छ।

काठमाडौं महानगरपालिकाको मेयर हुँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणअघि सामाजिक सञ्जालमार्फत लिपुलेक नेपालको भूमि भएको विषय चीनलाई सम्झाउन आग्रह गरेका शाह प्रधानमन्त्री बनेपछि भने यही मुद्दामा मौन बसेका छन्। मेयर हुँदा ग्रेटर नेपालको नक्सा राखेर राष्ट्रियताको पक्षमा अभिव्यक्ति दिने शाहको अहिलेको व्यवहारलाई लिएर आलोचना भइरहेको छ।

भ्रमणका क्रममा भारतले भोटेकोशी बाढीपछिको पुनर्निर्माण र दीर्घकालीन विकासका लागि २ खर्ब ४० अर्ब रुपैयाँ सहयोग घोषणा गरेको छ। त्यस्तै, हवाई रुट, जलविद्युत् आयोजना, एकीकृत जाँच चौकी र थप व्यापारिक नाकासम्बन्धी सहमति भएका छन्।

तर सीमा विवाद, सन् १९५० को शान्ति तथा मैत्री सन्धिको पुनरावलोकन, ईपीजी प्रतिवेदन कार्यान्वयन, व्यापार घाटा न्यूनीकरण, नेपाली वस्तुको भारतीय बजारमा पहुँच र पञ्चेश्वर परियोजनाजस्ता महत्वपूर्ण विषयले ठोस स्थान पाएनन्।

विगतमा नेपाल र भारतबीच भएका कैयौँ सहमति कार्यान्वयन नभएको अनुभवले नयाँ घोषणाको प्रभावकारितामाथि पनि प्रश्न उठाएको छ। अझ प्रधानमन्त्री शाहले भारत भ्रमणअघि प्रमुख राजनीतिक दलसँग छलफल र राष्ट्रिय सहमति जुटाउने प्रयास नगर्नुलाई कूटनीतिक कमजोरीका रूपमा हेरिएको छ।

राष्ट्रिय मुद्दामा साझा धारणा बनाएर छिमेकीसँग संवाद गर्नु सरकारको जिम्मेवारी हो। त्यसैले केही विकास आयोजना र आर्थिक सहयोगका घोषणालाई मात्रै भ्रमणको ठूलो उपलब्धि भन्दै प्रचार गर्नुभन्दा भएका सहमति कार्यान्वयन र थाती रहेका राष्ट्रिय मुद्दाको समाधानमा सरकारले ध्यान दिनुपर्ने देखिन्छ।

प्रकाशित मिति : १२ मंसिर २०८३, शनिबार ०९:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।