Logo

पत्रपत्रिका

दाइजोमा साइकलको सट्टा मोटरसाइकल दिन थालेपछि…



काठमाडाैं। दाइजोमा साइकलको सट्टा मोटरसाइकल दिन थालेपछि साइकल प्रयोग गर्नेहरूको सङ्ख्या ह्वात्तै घटेको छ ।

४० वर्षदेखि साइकल कसेर कमाइ गर्ने मिस्त्री बुचाई साह भन्छन्, ‘डेढ दशकअगाडि साइकल कस्न बिहानदेखि बेलुकासम्म व्यस्त रहन्थ्यौँ ।

दिनभरिमा १५ वटा साइकल कस्थ्यौँ, भ्याइनभ्याइ हुन्थ्यो तर अहिले दिनमा एउटा पनि साइकल कस्न साइत जुर्दैन ।

साइकल कस्ने र मर्मत गर्ने ग्राहक ह्वात्तै घटेपछि पेसाबाट पलायन भएर धेरै साइकल मिस्त्री विदेश जान बाध्य भएका छन् । लहानमा मात्रै एक दर्जनभन्दा बढी रहेका साइकल थोक पसल घटेर दुईवटामा सीमित भएको लहानका थोक बिक्रेता पिङ्कु अग्रवाल बताउँछन् ।

उनको अनुसार विवाहको समयमा दुलाहालाई साइकल दिन लगनको समयमा सयाैँ साइकल बिक्री हुन्थ्यो । अहिले दिनमा दुईवटा साइकल पनि बिक्री हुँदैन ।

साइकलको सट्टा मोटरसाइकल दाइजोका रूपमा दिन थालेपछि लहानका मोटरसाइकल सोरुममा खरिद गर्नेको भीड बाक्लो हुन्छ ।

२० वर्षदेखि साइकल मर्मत गरिरहेका मो. रजाकका अनुसार लेडिज साइकल बिक्री हुन्थ्यो । मधेस प्रदेश सरकारले ‘बेटी पढाऊँ, बेटी बचाऊँ’ कार्यक्रमअन्तर्गत कक्षा ८ मा पढ्ने छात्रालाई साइकल वितरण गर्न थालेपछि लेडिज साइकलको बिक्री घटेको छ ।

अहिले आधुनिक मोडेलका साइकल र बच्चाले प्रयोग गर्ने साइकल मात्रै बिक्री हुने गरेको छ । साइकल हरेक व्यक्तिको सवारी हुन्थ्यो ।

विवाहमा हिरो रोयल, एभन र एटलस कम्पनीका साइकल दिएपछि दुलाहा असाध्यै खुसी हुन्थे तर केही दशकयता माग नगरे पनि दुलही पक्षले मोटरसाइकल दाइजोमा दिन थालेपछि साइकलको बिक्री र प्रयोगकर्ता ह्वात्तै घटेको शिक्षक रामविहारी साह बताउँछन् ।

उनी थप्छन्, ‘साइकलको प्रयोग गर्दा स्वस्थ भइन्थ्यो, अहिले मोटरसाइकल प्रयोगकर्ता बढेपछि स्वास्थ्यमा समस्या र सडक दुर्घटनासमेत बढेको छ ।” गोरखापत्र दैनिकमा समाचार छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आईतवार ०८:३१   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।