नेपालमा विवादित बाबजुत आज संसदमा पेश भएको अमेरिकी सहयोग परियोजना एमसीसीका बारेमा अमेरिका र चीनबाट आएको प्रतिक्रिया र उत्पन्न परिस्थितीका बिषयमा नेकपा एमालेका अध्यक्ष केपी ओलीले मुख खोलेका छन् ।
एमसीसीमा हस्ताक्षर गर्ने गठबन्धननै अहिले पनि सरकारमा भएको भन्दै ओलीले उनीहरुको कारण नेपाल शक्ति राष्ट्रहरुको खेल मैदान बन्न लागेको बताए । अहिलेको सत्ताधारी गठबन्धनले देश भड्खालोमा हाल्न खोजेको भन्दै ओलीले कडा शब्दमा प्रहार गरेका छन् ।
अहिले ठूला राष्ट्रहरू मसल लडाउने अवस्थामा पुग्न थालेका छन् भन्दै ओलीले यो अवस्था सम्म पुर्याएकै अहिलेको गठबन्धनवालाहरुले हो भनेका छन् । नेपालको अन्तराष्ट्रिय सम्बन्ध पूरै तहसनहसको अवस्थामा पुगेको ओलीको धारणा छ ।
केहि दिन अघि मात्रै चीनले एमसीसीको विषय जोडेर कडा प्रतिक्रिया दिएको थियो । नेपालमा अमेरिकाले धम्की कुटनीति सुरु गरेको भन्दै चीनले यसको प्रतिवाद गर्ने चेतावनी दिएपछि ओलीले मुख खोलेका हुन् । ओलीले संसदबाटै टुंगो लगाउन खोजेको भए पनि त्यसबेला अहिलेको गठबन्धनले नै अवरोध गरेको बताएका छन् ।
उनले आफ्नो नेतृत्वमा सरकार रहँदा एमसीसी टुंगोमा पुर्याउन खोजिएको भए पनि असफल पारिएको उनले बताएका हुन् ।
‘हामीले संसद पेश गरौं, जे गर्ने हो संसदले गर्छ भनेका थियौं । जनप्रतिनिधिले छलफल गरेर टुंगो लगाउँछन् भनेका थियौं,’ ओलीले भने, ‘एमालेलाई सरकारबाट हटाएपछि पास गर्छौ भनेर पर सार्दै गए । अहिले एमसीसीकै कारण अन्तर्राष्ट्रिय सम्बन्ध नै तहसनहस बनाएका छन् ।’
‘५ वर्ष अगाडि अहिले जो सरकारमा छ उसैले एमसीसीमा सम्झौता गरेका थिए । उनीहरूले अहिलेसम्म संसदमा पुर्याउन सकेका छैनन्,’ ओलीले भने, ‘ठूला शक्तिराष्ट्रहरू नेपाल खेल मैदान हुने गरी उत्रिन थालिसके । ठूला राष्ट्रहरू मसल लडाउने अवस्थामा पुग्न थालेका छन् ।’
उनले भने, ‘सरकार सञ्चालन गर्ने पैसा छैन । आयोजना कटौती भएको छ । पुँजीगत खर्च भएको छैन । काम गरेको ठेकेदारले भुक्तानी पाउन सक्दैन । बैंकबाट ऋण पाउन सक्दैन । बैंकसँग पैसा छैन । देश चरम आर्थिक संकटतिर जाँदैछ । तर सरकार चटपटाउँदैन ।’
















प्रतिक्रिया