Logo

समाचार

रामेछापमा आगलागी हुँदा २२ वटा घरगोठ जले



काठमाडौं । रामेछाप नगरपालिका–७ सुकाजोरमा आगलागी हुँदा २२ घरगोठ जलेका छन् ।

रामेछापमा विद्युत् सर्ट भइ आगलागी हुँदा एकै गाउँका ११ वटा घर र ११ वटा गोठ गरी २२ वटा घर गोठ जलेर नष्ट भएका हुन् । आज दिउँसो स्थानीय विनोद श्रेष्ठको घरमा विद्युत् सर्ट भइ आगलागी सुरु भएको थियो ।

श्रेष्ठको घरमा लागेको आगो हावाहुरीका कारण नजिकका छिमेकी चिरञ्जीवी श्रेष्ठ, ठेगबहादुर मगर, हिमाल श्रेष्ठ, एकलाल श्रेष्ठ, दलबहादुर मगर, ईश्वरलाल श्रेष्ठ, तेजबहादुर श्रेष्ठ, धनबहादुर श्रेष्ठ, शङ्कर श्रेष्ठ र प्रेमकुमार श्रेष्ठका गरी ११ वटा घर र ११ वटा गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी  दिए ।

आगो नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा निभाइएको छ । आगलागीले नगद, अन्नपात, लत्ताकपडा लगायतका सामग्री जलेका छन् । क्षतिको पूर्ण विवरण सङ्कलनको काम भइरहेको पनि प्रहरी नायब उपरीक्षक थिङले बताए । अहिले पीडितका लागि अस्थायी टहरा बनाउने काम भइरहेको रामेछाप नगरपालिका–७ सुकाजोरका वडाअध्यक्ष समिर कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार १९:४१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।