काठमाडौं । प्रभु बैंक लिमिटेडले नेकपाका नेता तथा पूर्वमन्त्री अमर बाबु गुरुङलाई ऋण चुक्ता गर्न ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ।
बैंकले नेकपाका नेता तथा पूर्वमन्त्री गुरुङ र जमानीकर्ता रहेकी उनकी श्रीमती रेणुका गुरुङका नाममा रहेको ५० लाख रुपैयाँभन्दा बढी कर्जा असुल हुन नसकेपछि सार्वजनिक सूचना प्रकाशित गरेको हो।
प्रकाशित सूचनाअनुसार ओखलढुंगाका गुरुङ दम्पतीलाई निर्धारित समयभित्र सम्पूर्ण कर्जा, ब्याज तथा अन्य दायित्व भुक्तानी गर्न आग्रह गरिएको छ। पटक–पटक मौखिक तथा लिखित ताकेता गर्दा पनि कर्जा नियमित नभएपछि बाध्य भएर सार्वजनिक सूचना जारी गरिएको बैंकले जनाएको छ।
बैंकले तोकिएको अवधिभित्र ऋण फर्छ्योट नगरे नेपाल राष्ट्र बैंक कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गर्न सिफारिस गरिने चेतावनीसमेत दिएको छ।
त्यस्तै, धितोमा राखिएको सम्पत्ति लिलाम बिक्रीमार्फत कर्जा असुलउपर गरिने र आवश्यक परे थप कानुनी प्रक्रिया अघि बढाइने उल्लेख गर्दै बैंकले ३५ दिनभित्र सम्पूर्ण बक्यौता रकम चुक्ता गर्न ऋणी तथा जमानीकर्तालाई आग्रह गरेको छ।
ओखलढुंगाको रुम्जाटारका अम्बिरबाबु गुरुङ लामो समय नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा सक्रिय रहेर २०७९ को निर्वाचनअघि टिकट नपाएपछि विद्रोह गर्दै नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका थिए।
२०७४ को प्रदेशसभा निर्वाचनमा ओखलढुंगा प्रदेशसभा (क) बाट विजयी भएका उनी कोशी प्रदेश सरकारमा भौतिक पूर्वाधार मन्त्री बनेका थिए। एमाले परित्यागपछि उनले जिल्ला कमिटीसहित नयाँ पार्टी रोज्दै ‘तारा’ चुनाव चिह्नबाट प्रतिनिधिसभा सदस्यमा समेत प्रतिस्पर्धा गरेका थिए। रास्वपा नेता पूर्व एआइजी बिस्वराज पोखरेल सङग पराजित भएका थिए ।






















प्रतिक्रिया