Logo

राजनीति

 संसद् विघटनबारे भारतले भन्‍यो – हामी जानकार छौं, लोकतान्त्रिक प्रक्रियामार्फत समाधान गर्नुपर्छ 



काठमाडौं । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे भारतले आफू जानकार भएको प्रतिक्रिया दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार कुनै पनि सरकार गठन हुन नसक्ने दाबी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद् विघटनको घोषणा गरेकी थिइन् । जेठ ७ गते मध्यराति प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद् विघटन गर्दै निर्वाचनको मिति तोकेकी हुन् । 

यस घटनाक्रमले अहिले मुलुकको राजनीतिक अस्थिर बनिरहेको छ । यस अवस्थाकाबारेमा भारतलाई आफूलाई जानकारी भएको जनाएको छ । भारतले यसलाई नेपालको आन्तरिक मामिला भएको र लोकतान्त्रिक प्रक्रियामार्फत समाधान गर्नुपर्ने समेत जनाएको छ । 

भारतका विदेशमन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले ट्विटरमार्फत नेपालको राजनीतिक अवस्थाबारे सञ्‍चारकर्मीको प्रश्‍नको जवाफ भन्दै एक विज्ञप्ति पोस्ट गरेका छन् । जसमा उनले नेपालको राजीतिक घटनाक्रम नेपालको आन्तरिक मामिला भएका र नेपालले आफै सम्हाल्नुपर्ने बताएका छन् । 

उनले भनेका छन्, “नेपालमा अहिले भइरहेका राजनीतिक विकासक्रमलाई हामीले जानकारीमा लिएका छौं। यसलाई हामी नेपालको आन्तरिक मामिलाको रुपमा लिन्छौं र उनीहरुको आफ्नै आन्तरिक ढाँचा र लोकतान्त्रिक प्रक्रियाअन्तर्गत नै समाधान गर्नुपर्छ भन्ने हाम्रो धारणा हो ।” 

उनले नेपाली जनताको विकासको यात्रामा एउटा छिमेकी र मित्रको रुपमा भारतले अविचलितरुपमा साथ दिनेसमेत उल्लेख गरेका छन् । उनले भनेका छन्, “प्रगति, शान्ति, स्थिरता र विकासमा नेपाल र नेपाली जनताको यात्रामा एउटा छिमेकी र मित्रको रुपमा भारतले अविचलितरुपमा साथ दिइरहन्छ ।” 

प्रधानमन्त्री र राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च अदालतमा विपक्षी गठबन्धनले संसद् पुनर्स्थापनाको माग गर्दै रिट दायर गरेको छ । 

प्रकाशित मिति : जेष्ठ १२, २०७८ बुधबार  १ : १६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।