स्थानिय तहको निर्वाचनको मुखमा प्रधानमन्त्री शेरबहादुर देउवा औपचारिक भारत भ्रमणका लागि दिल्लीमा रहेका छन् । देउवा दिल्लीमै रहेका बेलामा काठमाडौँको राजनीति तातेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) आफूलाई गतिशिल नेता भएको दाबी गर्दछन् । आलोचकहरुले अस्थिर र अवसरवादी भन्ने गरे पनि उनी त्यो कुरा स्विकार्न तयार छैनन् ।
केहि दिनअघि एक सार्वजनिक कार्यक्रममा प्रचण्डले आफूलाई नेकपा माओवादी केन्द्रको मात्रै नभएर सिँगो देशको नै अध्यक्ष भएको जस्तो फिल हुने बताएका थिए । देशमा आएका हरेक संकट मोचन गर्ने प्रमुख जिम्मेवारी आफ्नै भएको जस्तो महसुश हुने अभिव्यक्ति उनले दिएका थिए ।
राजनीतिलाई सम्भावनाको खेल भनेर परिभाषित गर्ने प्रचण्ड खास अवस्थामा कतापटि ढल्कीसकेका हुन्छन् कसैले पत्तो नै पाउँदैन । स्थानिय तहको निर्वाचन मिती नजिक आइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेरि अर्को छलाङ हान्न लागेको चर्चा चलेको छ ।
२०७४ सालमा भएको स्थानिय तहको निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेर भरतपुर महानगरपालिकामा छोरीलाई मेयर बनाएका प्रचण्डले सोही बर्ष भएको प्रतिनिधीसभाको निर्वाचनमा एमालेसँग बामगठबन्धन गरेर आफू सांसद बनेका थिए । अहिले कांग्रेससँग गठबन्धनमा रहेका उनले फेरि अर्को दाउ कसेको अनुमान गरिएको छ ।
एमालेसँग सहकार्यमा रहँदै गर्दा कांग्रेससँग हात मिलाइहाल्ने र कांग्रेससँग सहकार्यमा रहँदा फेरि एमाले तीर ढल्कीहाल्ने कुरामा पनि उनी माहिर देखिन्छन् । बिहिबार मात्रै बसेको सत्तागठबन्धनको बैठकमा कांग्रेसले गठबन्धनलाई हल्का रुपमा लिएको भन्दै एमालेसँग गठबन्धन गर्ने चेतावनी प्रचण्डले दिए ।
प्रचण्डले कांग्रेस सभापती समेत रहेका प्रधानमन्त्री देउवालाई चेतावनीयुक्त भाषामा अहिले पनि एमाले र माओवादी केन्द्रकोबीचमा गठबन्धन गर्नका लागि रातभर बैठक हुने गरेको बताउँदै कांग्रेसले हल्का रुपमा लिने हो भने गारो पर्न सक्ने भन्दै सचेत गराए ।
एमालेसँग मिल्छु भन्दै साँच्चै प्रचण्डले अर्को छलाङ हान्न खोजेका हुन् या एमाले कार्ड खेलेर देउवालाई तर्साएर आफ्नो भाग सुरक्षित गर्न खोजेका हुन् एकिन हुन सकेको छैन यद्यपी एमाले र माओवादी केन्द्र भित्रकै दोस्रो तहका खास नेताहरुकाबीचमा फेरी बाम एकता गरेर जानुपर्छ भन्दै घनिभूत छलफल चलिरहेको बताइन्छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रका केहि प्रभावशाली नेताहरुले बामगठबन्धन हुँदै हुँदैन भन्ने अवस्था नरहेको बताएका छन् । नेपालका बामशक्तिहरु एक ठाउँमा रहुन भन्ने चाहना चीनको पनि रहको बताइन्छन् ।
केहि दिन अघि मात्रै चीन पुगेर फर्किएका नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले नेपालमा अस्वाभाविक रुपमा बढ्न सक्ने पश्चिमा प्रभाव रोक्नका लागि बामशक्तिहरु एक ठाउँमा रहुन् भन्ने चीनीया चासो रहेको बताएका छन् ।
फेरि बाम एकताका लागि माओवादी केन्द्रका नेताहरुबाट सकारात्मक प्रतिक्रिया आइरहे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका जिम्मेवार नेताहरुबाट भने यस बिषयमा खासै सकारात्मक जवाफ आएको छैन । प्रचण्डले यसअघि पनि कांग्रेसले लखेटे एमालेसँग मिल्न सक्छु भन्दा एमाले महासचिव शंकर पोखरेलले एमालेले प्रचण्डलाई नलिने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।





















प्रतिक्रिया