Logo

राजनीति

प्रधानन्यायाधीश राणाकै इजलासमा  संसद् विघटनसम्बन्धी १९ मुद्दाको सुनुवाइ



काठमाडौं । संसद् विघटनसम्बन्धमा परेका १९ रिट निवेदन बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासमा परेको छ ।

राणाले आज १९ रिटमाथि सुनुवाइ गर्दैछन् । १९ रिटमा राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइएको छ । 

सर्वोच्च अदालतका अनुसार, संवैधानिक इजलासमा नपरेका निवेदनमा बिहीबार र संवैधानिक इजलासमा सुनुवाइ माग गरेका निवेदनमाथि शुक्रबार संवैधानिक इजलासमा नै सुनुवाइ हुनेछ । विघटनविरुद्ध ३० वटा रिट दायर भएकामा १९ वटामा बिहीबार  प्रारम्भिक सुनुवाइ हुन लागेको हो । 

सांसदहरुले सोझै संवैधानिक इजलासमा निवेदन दिएकाले उनीहरुको निवेदनमाथि शुक्रबार सुनुवाइ हुनेछ । शुक्रबारको सुनुवाइ भने पाँच सदस्यीय संवैधानिक इजलासमा नै हुनेछ । 

गत सोमबार ५ पूर्वप्रधानमन्त्रीसहितका १४६ सांसदले सर्वोच्च अदालतमै उपस्थित भएर संसद विघटनको निर्णयविरुद्ध रिट दायर गरेका थिए । उनीहरुले प्रस्ट बहुमतसहित शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गरे पनि राष्ट्रपतिले दाबी नपुगेको भन्दै अस्वीकृत गरेकी थिइन् ।

त्यसलगत्तै ७६ (३) को कामचलाउ हैसियतमा रहेका प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेकी थिइन् ।

यसअघि गत पुस ५ मा पनि सरकारको सिफारिसमा उनले संसद् विघटन गरेकी थिइन्। तर सर्वोच्च अदालतले फागुन ११ गते संसद पुनर्स्थापनाको फैसला गरेको थियो । तीन महिना नबित्दै फेरि सर्वोच्चमा संसद् विघटनको मुद्दा परेको हो ।

 

प्रकाशित मिति : जेष्ठ १३, २०७८ बिहीबार  १२ : १४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।