नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारमा सहभागी आफ्ना ३ मन्त्रीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ।
प्रदेश कमिटीको तर्फबाट अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले तीनै जना मन्त्रीलाई छुट्टाछुट्टै पत्र लेख्दै सरकारबाट बाहिरिन निर्देशन दिएका हुन् ।
सरकारमा सहभागी आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिइएको छ ।
पार्टीको स्थायी कमिटी बैठकको निर्देशनबमोजिम माओवादी नेतृत्वको सरकारबाट फिर्ता हुन निर्देशन दिइएको हो ।
यस्तै बुधबार नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले पार्टी केन्द्रको निर्णय अस्वीकार गर्ने बताएको थियो । एमालेले माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको थियो ।
एमालेको सोमबार बसेको स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । प्रदेशमा बुधबार बसेको संसदीय दलको बैठकले केन्द्रको विपक्षमा निर्णय गरेको थियो ।
अहिलेको अवस्थामा सरकारलाई दिएको समर्थन यथावत् राख्ने निर्णय गरेका थिए ।




















प्रतिक्रिया