प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते पहिलो पटक गरेको संसद् विघटनलाई सर्वोच्च अदालतले पुनर्स्थापना गरेपछि दुई धार बनेको जनता समाजावादी पार्टी (जसपा) नेपाल विभाजनको डिलमा पुगेको छ । वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन समाजवादी पार्टीलाई विभाजन गर्ने उद्देश्यले अध्यादेश ल्याएपछि हतारमा तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीले २०७७ वैशाख १० गते मध्यरातमा एकता घोषणा भएको थियो ।
पार्टी एकता घोषणाको ४५ दिनपछि अर्थात् जेठ २६ गते मात्रै निर्वाचन आयोगमा एकीकृत दल दर्ता भयो । जसमा पार्टीको कार्यकारिणी अध्यक्षमा महन्थ ठाकुरलाई पहिलो र दोस्रो अध्यक्षका रूपमा यादवलाई राखियो । तत्कालीन नेकपाकै शैलीमा जसपाले पनि दुई अध्यक्ष बनाएको थियो । जसरी नेकपामा दुई अध्यक्षबीचको फाटोले नेकपा इतिहासमा रह्यो, त्यही अवस्था जसपाको पनि हुन लागेको राजनीतिक विश्लेषकहरुले बताइरहेका छन् ।
राष्ट्रपतिको यही जेठ ६ गतेको नयाँ सरकार गठनको आह्वानपछि प्रधानमन्त्रीमा दुईजनाको दाबी परेसँगै जसपा पनि स्पष्टरुपमा दुई समूहमा विभाजित भएको सार्वजनिक भयो । एउटा समूको नेतृत्व महन्थ ठाकुर र राजेन्द्र महतोले गरेका छन् भने अर्को समूहको नेतृत्व उपेन्द्र यादव र बाबुराम भट्टराईले गरेका छन् । महन्थ समूहले प्रधानमन्त्री ओलीलाई समर्थन गरेका छन् भने उपेन्द्र समूहले विपक्षी गठनबन्धनको नेतृत्व गेरका शेरबहादुर देउवालाई गरेका छन् ।
उक्त समर्थनकै कारण पार्टीमा दुई अध्यक्षबाट एकले अर्कालाई कारबाही गर्ने विज्ञप्तिबाजीले जसपाको आधिकारिकताको प्रश्न उठेको हो । अन्ततः यसको छिनोफानोको मुद्दा निर्वाचन आयोगतिरै सर्ने सम्भावना बढेको छ । जसपाका नेताहरुले अहिले विवादको मुख्य चुरो दुई अध्यक्षीय प्रणालीभन्दा पनि विधान र प्रक्रियालाई आत्मसात् नगर्ने प्रवृत्तिका रहेको बताइरहेका छन् ।
जसपाको विधान अनुसार पार्टीको अधिकारसम्पन्न निकाय भनेको ५३ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति हो । यो समितिमा अहिले यादव पक्षको बहुमत छ । पार्टीका हरेक मुद्दाको सम्बोधन पार्टीको कार्यकारिणी समितिमा राख्नुपर्ने उपेन्द्रको अडानपछि महन्थ ठाकुर र राजेन्द्र महतो नयाँ दल दर्ता गर्ने विषयमा छलफल गरिरहेका छन् ।
तर, महन्थ समूहका नेता केशव झाले भने अहिले नयाँ दल दर्ताका लागि कुनै प्रक्रिया अघि नबढेको बताएका छन् । उनले भने, “केही सञ्चारमाध्यमहरुमा अनुमानका भरमा नयाँ दल दर्ता गरिँदै भन्ने कुरा आएको छ । तर, पार्टीमा त्यस्तो केही तयारी छैन । केही कुरामा विवाद छ । तर, त्यस विवादाई संवादकै माध्यमबाट समाधान गर्नुपर्नेमा जोड रहेको छ ।”
तर, उपेन्द्र समूहका एकजना नेताले भने महन्थ समूहले पूर्वराजपालाई ब्युँताउने तयारी गरिरहेको बताएका छन् । उनले भने, “उहाँहरुले पार्टी एकताका काम सम्पन्न नहुँदै विभाजनको तयारीमा लाग्नु भएको हो । पूर्वराजपा ब्युँताउने र केही दिनमै सरकारमा सहभागी हुने उहाँहरुको तयारी छ । नयाँ दल दर्ता भएपछि उहाँहरु सरकारमा सहभागी हुनुहुनेछ ।”
फाइल तस्बिर ।




















प्रतिक्रिया