काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेससहितका पाँच दलहरुले चुनावी तालमेल गर्ने सहमति गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एक्लै चुनाव लड्ने दाबी गर्दै आएका थिए ।
एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भनेका थिए, ‘चुनावमा एमालेले कसैसँग मोर्चा कस्दैन । अहिले एउटा पाँचदलीय भन्ने गठबन्धन बनेको छ, एमालेसँग एक्लै त कसैले आँटै गर्न सक्दैन । एमाले एक्लै चुनाव लड्छ ।’
यसैगरी एमाले उपाध्यक्ष विष्णु पौडेलले आइतबार नै भने, ‘यो स्थानीय तहको निर्वाचनमा नेकपा एमाले एक्लै लड्छ। कसैसँग तालमेल वा गठबन्धन गर्नुपर्ने एमालेलाई आवश्यकता छैन । हामी एक्लै लड्छौँ । एक्लै प्रतिस्पर्धा गर्छौ । एक्लै जित हासिल गर्छौ । कम्तिमा पनि हाम्रो टार्गेट कति छ भने ७० प्रतिशत स्थानीय तहहरुमा, ७० प्रतिशत पालिकाहरुमा हामी एक्लै जित्छौँ ।’
पार्टीकै शीर्ष नेताहरुले भाषणमा यसो भनिरहँदा नेकपा एमालेले नै राप्रपा र राप्रपा नेपाल दुबैसँग तालमेल गर्नका लागि विभिन्न चरणमा छलफल गरिरहेको छ । राप्रपा नेपालसँग वार्ताका गर्न लागि त समिति नै गठन गरेको छ ।
एमालेकै एक नेताले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग तालमेल गर्ने सहमति नजिक पुगेका बताए । उनका अनुसार दुई पार्टीका अध्यक्ष केपी शर्मा ओली र कमल थापाबीच तालमेलका लागि तीन चरणमा भएको वार्ता भइसकेको छ।
त्यसैगरी राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग पनि एमालेले वार्ता गरिरहेको उनको भनाइ छ । उनले भने, ‘तालमेलका लागि आवश्यक प्राविधिक कामको टुंगो गर्न दुई पार्टीले नेताहरुलाई जिम्मा पनि दिएको छ । एमालेबाट ओलीका सल्लाहकारसमेत रहिसकेका झापाका नेता देवेन्द्र दाहाल र राप्रपा नेपालबाट महामन्त्री सुशील श्रेष्ठलाई वार्ता गर्न संयोजक तोकिएको छ ।’
तालमेल गर्न सकिने स्थानीय तहबारे टुंगो गर्न दुई जनाको वार्ता टोलीले निर्णय गरेर अध्यक्षलाई देखाएपछि अन्तिम टुंगो लगाइने उनले जानकारी दिए ।
राप्रपा नेपालले आगामी २४ गतेसम्म आफूले उम्मेदवारी दिन सक्ने पालिकाको दाबी एमालेसमक्ष राख्ने तयारी गरेको छ ।
लिङ्देन नेतृत्वको राप्रपासँग पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले भेट गर्दै तालमेलको प्रस्ताव गरेका छन् । एमालेका अर्का एक नेताले भने, ‘आगामी निर्वाचनका लागि एमालेले राप्रपा र राप्रपा नेपाल दुवैसँग संवाद भइरहेको छ । अध्यक्षज्यूले दुबै राप्रपासँग कुरा गरिरहनु भएको छ । सहमति पनि हुन्छ होला । हामी संवादमै रहेकाले सबै कुरा मिलिसक्न बाँकी छ ।’






















प्रतिक्रिया