सरकारले अनुमति दिए तनहुँका दुई पालिकाले कोभिडविरुद्धको खोप खरिद गर्ने भएका छन् । म्याग्दे गाउँपालिका र व्यास नगरपालिकाले कोरोना महामारीविरुद्ध आफैँ खोप खरिद गर्ने भन्दै अनुमति दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग माग गरेको हो।
सरकारले खोप उपलब्ध गराउन समय लागेपछि आफैँले खरिद गर्ने भन्दै गाउँपालिकाले मन्त्रालयसँग अनुमति माग गरेको हो । गाउँपालिका अध्यक्ष मायादेवी राना र उपाध्यक्ष बालकृष्ण घिमिरेले मन्त्रालयलाई पत्र लेख्दै कोभिड भ्याक्सिन बाहिरबाट खरिद गर्नका लागि अनुमति दिन आग्रह गरे।
गाउँपालिकाले आफ्नै आन्तरिक स्रोत तथा विकास बजेट कटौती गरेर भए पनि भ्याक्सिन खरिदमा लगानी गर्ने अध्यक्ष रानाले बताए। ‘स्थानीय नागरिकबाट उक्त भ्याक्सिनको अत्यधिक माग तथा अनुरोध भई आएकाले सरकारले यथाशीघ्र भ्याक्सिन उपलब्ध गराइदिओस्, नत्र भने नागरिकको जीवनरक्षाका लागि हामी आफैँ खरिद गर्छौँ, त्यसका लागि अनुमति दिओस्,’ रानाले भने।
गाउँपालिकाले सबै नागरिकलाई कोभिडविरुद्धको खोप दिन चाहेको र त्यसका लागि सरकारले खरिद गरेको मूल्य र मापदण्डअनुसार खोप खरिद गर्न मन्त्रालयसँग अनुमति माग गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए। ‘सरकारले अनुमति दिए विकास बजेट कटौती गरेर भए पनि खोप खरिद गर्छौँ,’ अधिकारीले भने।
सदरमुकामस्थित व्यास नगरपालिकाले पनि सरकारले अनुमति दिए आफैँले खोप खरिद गर्ने बताएको छ । नगरवासीलाई आवश्यक पर्ने खोप सरकारकै तर्फबाट उपलब्ध गराउन माग गर्ने र उपलब्ध हुन नसकेको खण्डमा नगरपालिकाले नै खरिद गरी लगाउने व्यवस्था मिलाउन सरकारसँग अनुमति माग गरिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए। रासस




















प्रतिक्रिया