सत्ता संघर्षका निर्णायक अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएको जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह सरकारमा जाने भएको छ । मन्त्रालयको अन्तिम भागबण्डा गर्न महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भइरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत शनिबार महन्थ ठाकुर समूहलाई सरकार सहभागी हुन प्रस्ताव गरेका हुन् । जनता समाजवादी पार्टीका वरिष्ठ नेता महतो शनिबार भारतीय दूतावास पुगेपछि प्रधानमन्त्री ओलीले ठाकुर समूहलाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।
उक्त आग्रहपछि सरकारमा सहभागी हुने विषयमा ठाकुर समूहभित्र छलफल भएको थियो । पार्टी फुटाएरै भए पनि सरकारमा सहभागी हुन महन्थ समूह तयार भएको हो । प्रधानमन्त्री ओलीले ठाकुर समूहलाई उपप्रधानमन्त्रीसहित कम्तिमा ७ मन्त्रालयको जिम्मेवारी दिने बताएका छन् । तर, ठाकुर समूहले भने असन्तुष्ट नेताहरुको पनि व्यवस्थापन गर्नुपर्ने भएकोले आठ मन्त्रालयसहित दुई राज्यमन्त्री दिन माग गरेका छन् ।
महन्थ समूह राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागी हुने भएको हो । महतोले शक्तिशाली मन्त्रालय दिनपर्ने प्रधानमन्त्री ओलीलाई माग गरेको स्रोतले जानकारी दिएको छ । त्यसमा प्रधानमन्त्री ओली सकारात्मक रहेका छन् । हाल गृहमन्त्रालयसहित आठवटा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हालिरहेका छन् ।
जसपाको ठाकुर समूहमा कसलाई सरकारमा पठाउने नामको विषयमा पनि छलफल गरिरहेको छ । जसमा शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव र चन्दा चौधरी मन्त्री बन्ने सूचीमा रहेको जसपा ठाकुर समूहका एक नेताले जानकारी दिए । उनका अनुसार विमल प्रसाद श्रीवास्तव, उमाशंकर अगरिया, लक्ष्मणलाल कर्ण, प्रमोद साह, र चन्द्रकान्त चौधरीको पनि नामका विषयमा छलफल भइरहेको छ ।
महन्थ ठाकुर र राजेन्द्र महतोले ओलीलाई प्रधानमन्त्री बनाउन समर्थनसहित हस्ताक्षर गरेका थिए । प्रधानमन्त्री ओलीले ठाकुर समूहले उठाउँदै आएका मधेस मुद्दाको समाधानका लागि पनि सकारात्मक रहेको बताएका छन् । यसअघि प्रधानमन्त्री ओलीले १२० जनाको मुद्दा फिर्ता गरेका छन् ।
तर, जसपाकै उपेन्द्र यादव र बाबुराम भट्टराई समूह भने सरकारको कदमलाई असंवैधानिक भन्दै विरोध जनाइरहेको छ । प्रधानमन्त्री ओलीले सरकारमा महेश बस्नेत, गोकुल बाँस्कोटा र कर्ण थापालाई पनि लैजाने तयारी गरिरहेका छन् ।

















प्रतिक्रिया