लुम्बिनी प्रदेशमा सोमबार सम्पन्न राष्ट्रिय सभा उपनिर्वाचनमा सत्तारुढ दल एमालेलाई झट्का लागेको छ । विपक्षी दलको गठबन्धनबाट उम्मेद्वार बनेका कांग्रेस नेता दृगनारायण पाण्डे निर्वाचित भएसँगै एमालेलाई झड्का लागेको हो।
विपक्षि गठबन्धनसँग एमालेका चन्द्रबहादुर खड्का पराजित भएका छन् । पाण्डेले ४ हजार १४० मतभार पाउँदा खड्काले ३ हजार ६१२ मतभारमा चित्त बुझाउनुपर्यो । पाण्डेलाई नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा साथ थियो ।
जम्मा ३०० मतदाता रहेको लुम्बिनीमा २९७ मत खसेको थियो । तीन स्थानीय तहका प्रमुखले भने मतदानमा भाग लिएनन् । यसअघि माओवादी केन्द्रको तर्फबाट निर्वाचित खड्का एमाले प्रवेश गरेपछि उपनिर्वाचन भएको हो। एमालेले खड्कालाई नै पुन: उम्मेद्वार बनाएको थियो।
पाण्डे भने यसअघि एमालेबाट लुम्बिनीको प्रदेश सभा सदस्य थिए । उनी १९ वैशाखमा प्रदेश सभा सदस्यबाट राजीनामा दिएर कांग्रेस प्रवेश गरेका थिए ।
मुख्यमन्त्री शंकर पोखरेलाई समर्थन गर्नुपर्ने अवस्था आएपछि उनले सांसद पदबाट राजीनामा दिएका थिए ।
पाण्डे २०७४ मा भएको प्रदेश सभा निर्वाचनमा हृदेश त्रिपाठी समूहबाट सूर्य चिन्ह लिएर कपिलवस्तु क्षेत्र नम्बर २ ‘क’ बाट निर्वाचित भएका थिए । स्वतन्त्र समूहबाट चुनाव लड्नुअघि पाण्डे नेपाली कांग्रेसमै सक्रिय थिए ।
उनको जितसँगै राष्ट्रिय सभामा कांग्रेसको सात सिट पुगेको छ ।

















प्रतिक्रिया