राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार गर्दिन भनेर सार्वजनिक रुपमा कसम खानेलाई मात्रै राप्रपाले टिकट दिने बताएका छन् । स्थानीय तहको निर्वाचनमा राप्रपाबाट टिकट लिनका लागि यस्तो व्यवस्था गरिएको हो ।
भ्रष्टाचारीले देशलाई खोक्रो बनाएको भन्दै लिङ्देनले आफ्नो पार्टीले भ्रष्टाचार रोक्नका लागि हदै सम्मको कठोर बन्ने बताएका छन् । आफूले पनि भ्रष्टाचार गर्नु पर्यो भने आमाको रगत खाए बराबर हो भनेर कसम खाएका उनले राप्रपाबाट जुनसुकै पदमा मनोनयन गर्नेले पनि सार्वजनिक कसम खानु पर्ने बताएका छन् ।
स्थानीय तहको निर्वाचनमा उमेदवार बन्नेहरुलाई सार्वजनिक रुपमा कसम खाएर मात्रै मनोनयन दर्ता गर्न जान लिंदेनले निर्देशन दिएका छन् । भ्रष्टाचार गर्दिनँ भनेर सार्वजनिक रूपमा कसम खान आग्रह गरे । ‘जो उम्मेदवार बन्दै हुनुहुन्छ, सार्वजनिक रूपमै कहिल्यै भ्रष्टाचार गर्ने छैन भनेर कसम खाएर मात्रै मनोनयन दर्ता गर्न जानुहोला,’ लिङ्देनले भने ।
लिङ्देनले असफल बन्दै गएको अहिलेको व्यवस्थाको विकल्पमा आफूहरूको उपस्थिति रहेको बताएका छन् । ३२ वर्षमा ३६ सरकार परिवर्तन भएको र दुई तिहाइ बहूमतका सरकार समेत ढल्ने गरेको भन्दै उनले यो सबै असफल व्यवस्थाको परिणाम भएको बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले बुटवलमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले लोकतन्त्र र गणतन्त्रको नारा दिएर विगत ३२ वर्षदेखि जनतालाई कैद गर्ने र बन्धक बनाएर राख्न खोज्नेहरूका विरूद्ध राप्रपाको उदय भएको बताए । उनले जनतालाई आफ्नो गोठको गाईभैंसी सम्झेर कजाउनेहरूलाई जनताले निर्वाचनमा बदला लिने बेला आएको बताए ।
भ्रष्टाचार गरेर कुम्ल्याएको अकुत सम्पत्ति राष्ट्रियकरण गरिनुपर्ने भन्दै उनले आफूले जीवनमा एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको र भ्रष्टाचार गर्नेहरूलाई पार्टीमा कुनै स्थान नभएको बताए ।
‘राजेन्द्र लिङ्देन नेपाली राजनीतिमा वडा अध्यक्षबाट उठ्दै उठ्दै यहाँसम्म आएको छ, अहिलेसम्म एक रुपैयाँ पनि भ्रष्टाचार गरेको कसैले पुष्टि गर्छ भने म जीवनभर उसको नोकर बस्छु, तपाईंहरू पनि कोही पार्टीमा लागेर धन कमाउने मनसायले आउनु भएको छ भने आजैदेखि पार्टी छोडिदिनुस्,’ उनले भने ।
गएका निर्वाचनमा सही दल र व्यक्तिलाई चुन्न नसक्दा नेपाली जनताले दुस्ख पाएको दाबी गर्दै उनले अब पनि आफ्नो भाग्यलाई दोष दिएर गलत पार्टी र व्यक्तिलाई जिताउने छुट नेपाली जनतालाई नभएको बताए ।
‘मेरो बाउको पार्टी, आमाको पार्टी, मेरो पार्टी भनेर अहिलेका दलहरूलाई नै भोट दिएर पठाउने छुट इमान्दार जनतालाई छैन, उनले भने, ‘देशको अवस्था देख्दा कांग्रेस, एमाले र माओवादीका इमान्दार कार्यकर्तालाई पनि ऐंठन हुन्छ होला, अब ऐंठन भएर बस्ने होइन राप्रपाको अभियानमा जोडिनुस्, यो अभियान राप्रपाको मात्र होइन देश बचाउने अभियान हो ।’
















प्रतिक्रिया