Logo

राजनीति

जसपा विवाद : उपेन्द्र र महन्थले एकअर्कालाई कारबाही गरेको पत्र निर्वाचन आयोगद्वारा रद्द 



जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई समूहले एक-अर्कालाई निष्कासन गरेको पत्र निर्वाचन आयोगले रद्द गरिदिएको छ । आयोगले बुधबार दुबैले गरेको कारबाहीको प्रक्रिया नपुगेको भन्दै दुबै समूहले दिएको पत्र रद्द गरिदिएको हो । 

जसपाका दुबै अध्यक्षले एकले अर्कालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि निष्कासन गरेका पत्र यसअघि निर्वाचन आयोगमा बुझाएका थिए । तर, आयोगले राजनीतिक दलसम्बन्धी नियमावली २०७३ (पहिलो संशोधन) अनुरुप नभएकोले बदर गरिएको आयोगका सचिव सुरेश अधिकारीले जानकारी दिएका छन् । 

जनता समाजवादी पार्टीका दुबै समूहले दिएका पत्र मंगलबार आयोगमा दर्ता भएका थिए । एउटामा महन्थ ठाकुरले सही गरेर उपेन्द्र यादवलाई निष्कासन गरेको र अर्कोमा उपेन्द्र यादवले सही गरेर महन्थ ठाकुरलाई निश्कासन गरिएको पत्रमा उल्लेख गरिएको थियो । दुवै पत्र राजनीतिक दल सम्बन्धी नियमावलीको अनुसूचीको फाराम अनुसार पत्र नभएको जनाउँदै आयोगले रद्द गरिदिएको हो । 

ठाकुर र यादवलाई नियमावलीको अनुसूची अनुरुप पत्र पठाउन आयोगले बुधबारै पत्र पठाउने भएको छ । ठाकुरले पठाएको पत्रमा कार्यकारिणी समिति बैठकको माइन्यूट नभएकोले त्यो समेत पठाउन भन्दै पत्र पठाइने छ । 

तर, यादवको पत्रमा भने माइन्यूट रहेको छ । आयोगको पत्र पुगेपछि उनीहरूले नियमावलीको अनुसूची अनुरुप पत्र पठाएपछि मात्रै प्रक्रियामा जाने आयोगले जनाएको छ । 

राजनीतिक दलसम्बन्धी नियमावलीमा निर्वाचन आयोगमा पेस भएको केन्द्रीय समिति र संसदीय दलको बहुमतले पार्टी अनुशासनविपरीत काम गर्नेलाई कारबाही गर्न सक्छ । अहिले संसद् नभएकाले केन्द्रीय कार्यासमितिको बहुमतले कारबाही गर्न सक्छ । जसपाले केन्द्रीय समितिको रुपमा केन्द्रीय कार्यकारिणी समितिको नाम पेस गरेको थियो । 

यादव र ठाकुर दुवैले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिमएकले अर्काको नाम हटाएर अद्यावधिक गरिदिनु भनेका छन् । जसपाको कार्यकारिणीमा उपन्द्र समूहको बहुमत रहेको छ । 

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार १६:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।