Logo

संक्रमण घट्यो, कारण यस्तो छ



कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागू भएको एक महिनाभन्दा बढी भइसकेको छ । सङ्क्रमणको साङ्लो तोड्न लगाइएको निषेधाज्ञाको प्रभाव सकारात्मक परेको देखिएको छ ।

निषेधाज्ञा लागू भएको अघिल्लो दिन अर्थात् वैशाख १५ गते काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा दुई हजार ४७ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

जनस्वास्थ्य विज्ञहरूले एक महिनाको निषेधाज्ञापछि उपत्यकामा कोरोना सङ्क्रमण घट्न थालेको सङ्केत मिलेको बताए । तर उनीहरूले स्वास्थ्य मापदण्ड पालनामा लापरवाही नगर्न सचेत पनि गराए । उपत्यकामा दैनिक थपिने सङ्क्रमितको सङ्ख्या सबभन्दा बढी वैशाख २६ गते झन्डै चार हजार दुई सय पुगेको थियो । यो सङ्ख्या घटेर जेठ १६ गते करिब एक हजार एक सयमा आइपुगेको छ ।

जेठ १९ गते बुधबार काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँमा ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना गरी एक हजार ४५६ जना सङ्क्रमित थपिएका छन् । अहिले दैनिक थपिने नयाँ सङ्क्रमितको सङ्ख्या निषेधाज्ञा लागू हुनुभन्दा एक साता अघिको अवस्थामा आएको छ ।
यसैगरी वैशाख अन्तिमतिर काठमाडौँ उपत्यकामा झन्डै साढे ४२ हजार सक्रिय सङ्क्रमित थिए । बुधबार सक्रिय सङ्क्रमितको सङ्ख्या उपत्यकामा २४ हजार ६४६ मा झरेको छ ।

सरुवा रोग विशेषज्ञ डा। अनुप बास्तोलाले उपत्यकासहित देशभर कोरोना सङ्क्रमितको सङ्ख्या घटेको बताए । उनले निषेधाज्ञा जारी भएको एक महिनापछि सङ्क्रमितको सङ्ख्या घट्न थालेको भए पनि कोरोनाको जोखिम कम भयो भन्न नमिल्ने बताए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहीबार ०७:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।