प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बिरामी भएपछि संवैधानिक इजलास स्थगित गरिएको छ । संसद् विघटन सम्बन्धमा परेका मुद्दाहरुको सुनुवाइका लागि गठन गरिएको संवैधानिक इजलास विवादित बनिरहेको बेला प्रधानन्यायाधीश राणा बिरामी भएका हुन् ।
राणा बिरामी भएपछि संवैधानिक इजलास स्थगित गरिएको सर्वोच्च अदालतले जनाएको छ । प्रधानन्यायाधीश राणाले आफू अस्वस्थ भएको जानकारी अदालत प्रशासनलाई जनाइएको छ ।
प्रतिनिधिसभा विघटन मुद्दामा अब बुधवार सुनुवाइ हुनेगरि निवेदकलाई तारेख दिइएको छ । सर्वोच्च अदालतमा प्रधानन्याधीशको अनुपस्थितिसँगै सोमबार तीनवटा इजलासमा ५ जना न्यायाधीशको मात्रै बेञ्च तोकिएको छ ।
सर्वोच्च अदालतमा प्रधान न्यायाधीशसहित कुल २० न्यायाधीश छन् । उनीहरुमध्ये सोमबार बमकुमार श्रेष्ठ, सुष्मालता माथेमा, प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल र कुमार चुडालदका मात्रै बेञ्चहरु तोकिएका छन् । बाँकी १४ न्यायाधीशको बेञ्च तोकिएको छैन ।
आइतबार प्रधानन्यायाधीशले वरिष्ठताका आधारमा गठन गरेको संवैधानिक इजलासमाथि प्रधानमन्त्री केपी शर्मा ओली पक्षका वकिलहरुले न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईका विषयमा प्रश्न उठाएका थिए । कानुन व्यवसायीहरुले न्यायाधीशद्वयलाई इजलासमा नबस्न आदेशको माग गर्दै मुद्दा दिनेसमेत तयारी गरेका थिए । तर, प्रधानन्यायाधीश राणाले भने उनीहरुलाई मानहानीको मुद्दा आकर्षित हुनसक्ने भन्दै चेतावनीसमेत दिएका हुन् ।

















प्रतिक्रिया