Logo

प्रमुख समाचार

‘मानव एम्बुलेन्स’लाई जिताउन देउवा धनगढीमा, एमालेमा कम्पन



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी अभियानका क्रममा देश दौडाहामा छन् । विगत केही दिनदेखि देशव्यापी रूपमा आयोजना भएका चुनावी सभामा देउवाले सम्बोधन गरिरहेका छन् ।

उनले आज कास्कीको पोखरामा चुनावी सभालाई सम्बोधन गरेका छन् । पोखराको सभा सकेर देउवा गृहप्रदेश सुदूरपश्चिम पुगेका छन् ।

आइतबार साँझ देउवा धनगढी उत्रिँदा सयौँ कार्यकर्ताहरूले उनको स्वागत गरेका छन् । देउवाले भोलि धनगढीमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका छ ।

धनगढीमा देउवाका विश्वास पात्र मानिने नृपबहादुर वड सत्ता गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार छन् । कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका उनी अघिल्लो पटक पनि मेयरमा निर्वाचित भएका थिए ।

अघिल्लो पटकको चुनावमा देउवाले वडलाई ‘मानव एम्बुलेन्स’ भनेका थिए । जुनसुकै अप्ठ्यारोमा पनि जनताको साथमा हुने भएकोले देउवाले मानव एम्बुलेन्सरूपी वडलाई जिताउन अपिल गरेका थिए ।

धनगढीको सभापछि देउवाले गृहजिल्ला डडेल्धुरामा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । सुदूरपश्चिममा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा यसअघि नै चुनावी अभियानमा सक्रिय छिन् । आज देउवाले समेत पाइला टेकेपछि सुदूरपश्चिमका कांग्रेसीहरू उत्साहित बनेका छन् भने एमालेजनमा हलचल मच्चिएको छ ।

प्रकाशित मिति : बैशाख २५, २०७९ आईतबार  ७ : ०७ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।