Logo

मनोरञ्जन

अभिनेत्री ज्याकलिनले नेपाल आउन अदालतसँग मागिन् अनुमति



बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले १५ दिन नेपाललगायत अन्य देश जान अदालतसँग अनुमति मागेकी छन् । 

उनले हालै दिल्ली अदालतमा नेपाल, आबुधाबी र फ्रान्स यात्रामा जान अनुमतिका लागि दिल्ली अदालतमा निवेदन पेश गरेकी हुन् ।

ठगी मुद्धामा पक्राउ परेका सुकेश चन्द्र शेखरसँग सम्बन्ध भएको भन्दै उनलाई प्रवर्तन निर्देशनालय(इडी) ले देश छोडेर जान रोक लगाएको थियो । केही दिन अगाडि इडीले उनको ७ करोड २७ लाख भारतीय रुपैयाँको सम्पत्ति समेत जफत गरेको थियो ।

भारतीय अखबार इन्डिया टुडेका अनुसार सुकेशले ज्याकलिनलाई ५ करोड ७१ लाखको उपहार दिएका थिए ।

उनले नेपालमा यही जेठ १४ (मे २८) मा हुन लागेको ‘दबंग टुर रिलोडेड’ मा सहभागी हुन, आबुधाबीमा हुने आइफा अवार्डमा सहभागी हुन र फ्रान्स यात्रा गरी करिब १५ दिनको विदेश भ्रमणमा जान पाऊँ भन्दै निवेदन पेस गरेकी छन् । 

यही प्रतिबन्धका कारण गत वर्ष दुबईमा भएको ‘दबंग टुर रिलोडेड’ मा पनि उनी जान पाएकी थिइनन् । उनलाई मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता पठाएको थियो। सोही दिनदेखि उनलाई मुम्बई छाडेर जान रोक लगाइएको हो । 

उनको निवेदनमा अदालतले आउँदो मे २० तारिखमा सुनुवाई गर्नेछ । एजेन्सी

प्रकाशित मिति : बैशाख २८, २०७९ बुधबार  ६ : ०५ बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।