Logo

राजनीति

ओलीले ठाकुर पक्षलाई यसकारण दिए सहमतिभन्दा बढी मन्त्रालय



प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षलाई सहमति गरेभन्दा बढी मन्त्रालय दिएका छन् । ठाकुर पक्षले ८ वटा मन्त्री र २ वटा राज्यमन्त्री मागको शर्त राख्दा  सुरुमा आनाकानी गरेका ओलीले बिहीबारको मन्त्रिपरिसद विस्तार गर्दा जसपालाई ९ वटा मन्त्रालय पुर्‍याएका हुन् ।

कुल २० जना सांसद संख्या भएको जसपाका ९ जना मन्त्री र २ जना राज्य मन्त्री भएका छन् । जसपाका नेता राजकिशोर यादव उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भएपछि पार्टीमा सांसद संख्याको आधाभन्दा बढीले मौका पाएका हुन् । 

महन्थको वाध्यता बुझेर बढी मन्त्रालय

कुनै समय मधेशवादी दलप्रति अनुदार र रुखो व्यवहार देखाउने ओलीले जसपाको ठाकुर समूहलाई सहमतिभन्दा बढी मन्त्रालय दिनुको कारण उक्त समूहमा फूट आउन सक्ने सम्भावना रहेको बुझिएको छ । अघिल्लो पटक मन्त्रिपरिसद विस्तार गर्दा राजकिशोर यादवलाई पनि समेट्न खोजिएको थियो । तर अन्तिम समयमा बरिष्ठ नेता राजेन्द्र महतोले यादवको नाम हटाएका थिए । 

सञ्चार क्षेत्रमा मन्त्री बन्ने चर्चा भएका यादवको नाम हटाईएपछि उनी आक्रोशित भएको बताईन्छ । यादवले उपेन्द्र यादव समूहका नेताहरुसँग सम्पर्क बढाउन थालेपछि त्यसको जानकारी ठाकुरसम्म पुग्यो ।  
त्यसपछि अफ्ठेरोमा परेका ठाकुर बालुवाटार पुगेर यादवलाई मन्त्री बनाउ अ‍ेलीसमक्ष आग्रह गरे । ठाकुरको समस्या बुझेपछि ओली यादवलाई मन्त्री बनाउन तयार भए ।

महतोले चाहेको मन्त्रालय यादवलाई

अघिल्लो पटकको मन्त्रिपरिसद विस्तारमा बरिष्ठ नेता महतोले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लिन चाहेका थिए । तर महतोलाई ओलीले शहरी विकास मन्त्रालय दिए । ओलीले बिहीबार भने महतोले चाहेको मन्त्रालय उनले नचाहेका व्यक्तिलाई सुम्पिए । 

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार १०:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।