Logo

प्रमुख समाचार

भ्रष्टाचारीका बिषयमा काठमाडौका मेयर र उपमेयरको एउटै उद्घोष



युवा अवस्थामै काठमाडौं महानगरपालिकाको मेयर र उपमेयर जस्तो महत्वपूर्ण जिम्मेवारीमा पुग्न सफल भएका बालेन शाह र सुनिता डंगोलले के कसरी कार्य सम्पादन गर्ने छन् भनेर सिंगो दुनिँयाले नजिकबाट नियालिरहेको छ ।

थुप्रै अवसर र चुनौतीको बीचमा जिम्मेवारीमा रहेका बालेन र सुनिता दुवैले निर्वाचनका बेला गरेका प्रतिवबद्धता अनुरुपको काम सुरु पनि गरिसकेको छन् । मूलकको प्रमुख समस्याका रुपमा रहेको भ्रष्टाचार निवारणमा बालेन र सुनिता दुवैले निर्मम बन्ने घोषणा गरेका छन् ।

भ्रष्टाचारको नियन्त्रणका लागि भिजन सहित आएका उनीहरुले भ्रष्टाचारको एउटा भयाबह रुपमा रहेको बेरुजु नियन्त्रणका लागि आवाज दिएका छन् । मेयर बालेन शाहले प्रणालीलाई पछ्याउने र कानुनको पालनामा सजग भएपछि बेरूजुको मात्रा घट्ने भन्दै कानुनमा दाँया बाँया नहुने गरि काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

‘सानातिना कुरामा ख्याल नपुग्दा तथा यस्ता कुरालाई ध्यान नदिँदा कहिलेकाहीँ असल नियतले गरेका कामका विषयमा प्रश्न आउन सक्छन्,’ प्रमुख शाहले भनेका छन् ‘वित्तीय अनुशासनको पालना गरेर बेरूजु हुन नदिने वातावरण सिर्जना गर्नुपर्छ ।’

आन्तरिक लेखा परीक्षण तथा बेरूजु समपरीक्षण एकाईले वडा सचिव, लेखापाल र इञ्जिनियरहरूसँग गरेको अन्तर्क्रियाका क्रममा उनले यस्तो बताएका हुन् । बेरुजु नियन्त्रणबाटै भ्रष्टाचार नियन्त्रणको सुरुवात हुने भन्दै कडाइ साथ वित्तिय अनुशासनमा लाग्नु पर्ने भन्दै उनले निर्देशन दिएका छन् । मेयर शाहको जस्तो उपमेयर डंगोलले पनि भ्रष्टाचार नियन्त्रणमा निर्मम बन्ने बताएकी छिन् ।

अन्तर्क्रियामा उपप्रमुख सुनिता डंगोलले हतारमा काम नगर्न सुझाव दिइन् । ‘भोलि बेरूजु देखिने गरी काम गर्नुहुँदैन । अहिले सम्पन्न गरेका कामसम्बन्धी भोलि फाइल पल्टाएर सुरूदेखि हेर्नु नपरोस्,’ उपप्रमुख डंगोलले भनिन् ।

अन्तर्क्रियामा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले हिजोका बेरूजुलाई न्यूनीकरण गर्ने र आगामी दिनमा बेरूजु हुन नदिनेतर्फ आफूले काम गरिरहेको उल्लेख गरे ।

‘हामी यो आर्थिक वर्षको अन्त्यसम्ममा पेश्की शून्य अभियानमा छौं,’ उनले भने, ‘लेखा परीक्षण प्रतिवेदनमा देखाइएका नियमित गर्न मिल्ने बेरूजुलाई नियमित गर्छौं । त्यस्तै समपरीक्षण र असुलउपर विधिबाट बेरूजु घटाउँछौं ।’

अन्तर्क्रियामा प्रशासन विभागका प्रमुख महेश काफ्ले, वित्त विभागका प्रमुख बुद्धरत्न मानन्धर, सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापा र राजस्व विभागका प्रमुख डा। शिवराज अधिकारीले आफूमातहत वडाबाट भएका काम र बेरूजु तथा फर्छ्यौटका लागि अवलम्बन गरिनु पर्ने प्रक्रियाका विषयमा प्रस्तुतिकरण गरेका थिए ।

वडाबाट गरिने पूर्वाधारमा लगत इष्टिमेट, मूल्यांकन र भुक्तानी प्रक्रियाको सम्बन्धमा उनीहरूको जोड थियो । उनीहरूले घटना दर्ता समयमा हुन नसक्दा सामाजिक सुरक्षाका कार्यक्रममा बेरूजु देखिएको औंल्याएका थिए ।

वडा १६ का लेखा प्रमुख चिनीकाजी महर्जनले वडाको वित्तीय व्यवस्थापनमा आन्तरिक समन्वय प्रणाली बलियो बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : जेष्ठ २८, २०७९ शनिबार  ३ : ०७ बजे

411
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।