Logo

विचार / ब्लग

सफ्टवेयर परिमार्जन हुँदैछ, आगामी वर्षबाट सरकारी ऋणपत्रको कारोबार गराउँछौं



नेपाल स्टक एक्सचेन्जकद्वारा प्रचारित सीडीएस एण्ड क्लियरिङ लिमिटेड सन् २०१० मा स्थापित भएको थियो । जसको मुख्य योजना इक्‍विटी, बोन्ड, वारेन्टहरुको अभौतिकृत कारोबार गराउने हो । शेयरको स्वामित्व  स्थानान्तरण, गोपनियता, शेयरको डिपोजिट र फिर्ता गर्ने लगायतको काममा सीडीएस केन्द्रित छ । नेपाल धितोपत्र बोर्डबाट नियमन हुने सीडीएस एण्ड क्लियरिङ लिमिटेड नेपाल स्टक एक्चेन्जको सबसिड्यारी कम्पनी हो । 

सीडीएस एण्ड क्लियरिङ लिमिटेडले अहिले प्राथमिक बजारमा निष्कासन हुने आईपीओ र दोस्रो बजारमा शेयर तथा फन्ड ट्रान्सफरको काम गर्दै आएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले दोस्रो बजारको पोष्ट कारोबारको जिम्मेवारी बहन गरिरहँदा शेयर बजारका अन्य निकाय जस्तै यो पनि विवादरहित भने छैन । 

अहिले शेयरबजार लगानीकर्ताको आकर्षणको केन्द्र बनेको छ । कारोबार रकममा दिन-प्रतिदिन उछाल देखिरहेको छ । गत वर्षसम्म दैनिक २० करोडको कारेबार हुने दोस्रो बजारमा ऐतिहासिक २० अर्बसम्मको कारोबार मापन भएको छ । पछिल्लो सात-आठ महिनामा नेप्सेको कारोबारमा देखिएको वृद्धिसँगै सीडीएस एण्ड क्लियरिङ लिमिटेडले सिस्टम पनि विस्तार भइरहेको छ । बजार ‘बुल-रन’मा प्रवेश गरेसँगै सीडीएस एण्ड क्लियरिङ लिमिटेड अहोरात्र खटिएर सिस्टम अपटेडमा विषेश सुधार गरेको गरेको छ । 

सीडीएस एण्ड क्लियरिङ लिमिटेडको कर्मचारी, टिम बिचको राम्रो समन्वयले बजारको लय सँग-सँगै सिस्टम अपग्रेड गरिएको छ । घरमै बसेर शेयर खरिदबिक्री गर्ने पद्धतीको विकाससँगै शेयरबजारमा आम जनताको आकर्षण पनि बढ्दो रहेको छ । प्रथमिक निष्कासनमा त झनै धेरै व्यक्तिको आकर्षण छ । यस्तो अवस्थामा मेरो शेयर नामक सीडीएस एण्ड क्लियरिङ लिमिटेडको सफ्टवेयरमा रियल टाइम एक लाखसम्म प्रयोगकर्ताले एकै साथ लगइन गर्ने गरेका छन् । पछिल्लो समय ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण रहे पनि हालै आईपीओ जारी गरेको जीवन विकास लघुवित्तको आईपीओमा हालसम्मकै उच्च २० लाख ७७ हजार जनाको आवेदन पर्दा चार दिनको समयावधिमा कुनै समयमा पनि मेरो शेयरमा समस्या उत्पन्न हुन दिएक छैनौं ।

मेरो शेयरको हार्डवेयर र सफ्टवेयर दुवै अपडेटे रहेको कारण समस्या उत्पन्न नभएको हो । आईपीओको आवेदनमा न्युन समस्या रहे पनि मेरो शेयरबाट इडिआइएस गर्ने भने केही समस्या अझै पनि छ ।  टि प्लस ३ बाट टि प्लस २ कार्यन्वयन गर्दा सेटलमेन्ट साइकलमा केहि समस्या देखिएको छ । लगानीकर्ताहरुले समस्या भोग्नु परेको गुनासो मेरो जानकारीमा छ । अटो इडीआइएस गर्न लगानीकर्ताहरुबाट माग पनि उठिरहेको छ । तर, यो अत्यन्तै जटिल विषय रहेको कारण तत्काल अटो इडिआइएसको पकिल्पना गर्न सकिएको छैन ।  

इडीआइएस, सीडीएस एण्ड क्लियरिङ लिमिटेडसँग मात्र जोडिएको विषय होइन । यो प्रत्यक्ष रुपमा करसँग जोडिएको विषय रहेको हुनाले २०७२ साल अगाडि किनेको शेयरमा अटो इडिआइएस सम्भव भएको छैन । शेयरको मूल्य कहिले पनि स्थिर नरहेको र आफूले किनेको शेयरको बारेमा आफैँलाई थाहहुने भएकोले अटो इडिआइएस तत्काल सम्भव नभएको हो । एक निकायले मात्र चाहेर हुने विषय भने यो होइन । यद्यपि समय र सन्दर्भ अनुसार सिस्टम परिसमार्जन हुने प्रतिबद्धता व्यक्त गर्दछु । 

बजारमा छिटो-छरितो कारोबार गराउने उद्देश्यले टि प्लस २ कार्यन्वयन गरियो । बजारमा पैसा नअड्कि कारोबार गराउने उद्देश्यले सुरु गरिएको टि प्लस २ बाट पुरानो टि प्लस ३-४ लगायतको ढाँचामा जाने हो भने झनै समय लाग्‍ने हुन्छ । यसलाई प्रभावकारी बनाउन यहि मोडलमा लगानीकर्ता सचेत भएर पैसा व्यवस्था भइसकेको अवस्थामा मात्र शेयर खरिद गर्नुपर्छ । साथै ब्रोकरहरुले पनि विनियमावलीअनुसार २५ प्रतिशत धरौटि राखेरमात्र शेयर खरिद गर्ने अनुमती दिन सुझाएका छन् । 

यस्ता क्रियाकलापहरुले इडिआइएसको समस्या केही हदसम्म समाधान हुनेछ । समयमा इडिआइएस हुँदा पनि भुक्तानीमा समस्या भइरहेको खबर आएका  छन् । विभिन्न सामाजिक सञ्जालहरुमा १५-२० दिनसम्म भुक्तानी नभएको खबर आफैँमा दु:ख लाग्दो छ । तर यस विषयमा लगानीकर्ता आफैँ सजग हुन आवश्यक छ । 

ब्रोकर भनेको त मेडिएटर मात्र हो । किन्‍नेले समयमा तिर्दा बिक्री गर्नेले पनि समयमा पाउँछन् । कुनै पनि शेयरको खरिदकर्ता र विक्रीकर्ता हुने भएकोले एउटाले खरिद गरेर अर्कोले पाउने भएकोले लगानीकर्ता यस विषयमा भने आफैँ सजग रहनु पर्छ । समयअनुसार यस्ता गुनासाहरु समाधान हुँदै जान्छन् । 

नेप्सेको मातहातमा सीडीएस एण्ड क्लियरिङ लिमिटेड रहे पनि नेप्सेका टिएमएस प्रणाली र सीडीएसको प्रणाली बेग्ला-बेग्लै हुन् । दिनभर कारोबार गर्न नेप्सेले टिएमएसको विकास गरेको हो भने सीडीएसको काम बजार बन्द भएपछि मात्र सुरु हुन्छ । किनबेचको समस्या सीडीएसको होइन । यद्यपि नेप्सेले आईटीमा सुधार गरिरहेको छ । नेप्सेले प्रत्यक ब्रोकरलाई आ-आफ्नै टिएमएस प्रणलीको विकास गर्न लगाएको छ, जुन अन्तिम चरणमा रहेको छ । 

ब्रोकरलाई थप प्रभावकारी बनाउन सीडीएस एण्ड क्लियरिङले एपीआई नामक प्रणालीको विकास गर्दैछ । उक्त प्रणालीबाट ब्रोकरले सीडीएससीको पद्धतीमा ब्रोकरले आफूले चाहिने रियल टाइम डाटा बिना कुनै झन्झट हेर्न सक्नेछन् । साउनसम्म एपीआइ लागु हुनेछ । 

सीडीएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्य आफ्नो कार्यकालको पहिलो वर्षमा हार्डवयर सफ्टवेयर अध्यावधि गर्दै आईपीओ आवेदन समस्यारहित बनाइएको हो । आईपीओको रिजल्ट हेर्ने नयाँ वेबसाइटको निमार्ण, खुल्ला बजारको डाटा नियन्त्रण, सुरक्षामा कडाई, सर्भर थप र अपग्रेड, सीएमएस अपग्रेडेशन लगायतको काम सम्पन्न भइसकेको छ । केन्द्रिकृत केवाईसी नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भइसकेको छ । जुन चालु आर्थिक वर्षभित्रै सम्झौता गरि आगामी आर्थिक वर्षबाट कार्यन्वयन हुनेछ । 

यसै वर्ष सीडीएस एण्ड क्लियरिङ लिमिटेडले मेरो शेयरको मोबाइल एप पनि लञ्‍च गरिसकेको छ । आइओएस भने निमार्णकै चरणमा छ । संस्थागत सुशाासनमा अब्बल रहेको सीडीएस एण्ड क्लियरिङ लिमिटेडले वार्षिकोत्सवको तयारी पनि गरिरहेको छ । 

सरकारको निर्णयअनुसार क्यापिटल रि-स्टक्चरिङमा अध्ययन प्रतिवेदन तयार गरि पेपर प्रिजेन्टेशन समेत भइसकेको बताए । सम्बन्धित निकायको सल्लाहमा चाँडै क्यापिटल रि-स्टक्चरिङ हुनेछ । आगामी वर्षको बजेट वक्तव्यमा सरकारले दुई प्रकारको लगानीकर्ता छुट्याएको छ । एक वर्ष शेयर राख्ने र एक वर्ष नपुग्दै बेच्‍नेलाई छुट्टाछुट्टै व्यवस्था गरिएको छ । करको दर फरक रहेको छ । सुन्दा सरल लाग्न सक्छ तर यो व्यवस्था साउन १ देखि अनिर्वाय रुपमा लागु गर्नुपर्ने छ । 

उक्त व्यवस्था लागु गर्न सफ्टवेयरमा महत्वपूर्ण परिमार्जनहरु गर्नुपर्छ । भेन्डर कम्पनीहरुले यस व्यस्वथामा काम थालिरहेका छन् । सीडीएस एण्ड क्लियरिङ लिमिटेड हाल सरकारी ऋणपत्र, बचत पत्र, विकास पत्र, सरकारी बोन्डहरु डिम्याटमा सूचिकरण गराई ट्रेडिङ गर्ने तयारीमा रहेको छ । सीडीएस मातहातमै हुनु पर्छ भन्दै अध्ययन प्रतिवेदन समेत राष्ट्र बैंकका पेश गरिसकेको छ । अब अर्थमन्त्रालय र राष्ट्र बैंकको अनुमति मात्र बाँकी छ । आगामी आर्थीक वर्षबाट सरकारी बोन्ड पनि नेप्सेमा सूचिकृत भइ कारोबार हुनेछ ।

विश्‍वको शेयर बजारसँग जसरी नेपालको शेयर बजारको तुलना गर्न मिल्दैन, त्यसैगरी विश्वस्तरीय पद्धतीसँग नेपालको पद्धती पनि तुलना गर्न मिल्दैन । यद्यपि यो एक निरन्तर विकास गर्दै लैजान मिल्ने वस्तु भएकोले समय र सन्दर्भअुनसार नेपालको शेयर बजार, शेयर बजारसम्ग जोडिएका पद्धती विकास गर्दै लगिने छ । 

(सीडीएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यसँग अनलाइनपानाकर्मी प्रस्तुत कोइरालाले गरेको कुराकानीमा आधारित ।)

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार ११:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।