Logo

अन्तर्वार्ता

विपद् समाधानका लागि एउटा सक्रिय समिति बनाएर काम गरिरहेका छौं : खेलराज पाण्डेय [अन्तर्वार्ता]



अहिले मध्यबर्खाको समय हो । देशैभरी बाढी, पहिरो र डुवानले विभिन्न समस्याहरु निम्त्याएको छ । यस्तो परिस्थितिमा जनताको सबैभन्दा नजिकको सरकार ‘स्थानीय तह’ले यी विपत्तिहरुविरुद्ध मुख्य भूमिका खेल्नुपर्ने हुन्छ । समस्या पर्दा जनताले तल्काल गुहार्ने पनि स्थानीय सरकारलाई नै हो । आफुले समाधान गर्न सकेसम्म गर्ने र नसकेको खण्डमा प्रदेश र केन्द्रसँग सहयोगको पहल गर्ने स्थानीय सरकारको दायित्व हो ।

यी यस्ता प्रकृतिक विपत्ति, बजेट, पालिकालाई समृद्ध बनाउने योजनालगायत समग्र विषयमा बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयसँग अनलाइनपानाका लागि रामनाथ कुँवरले कुराकानी गरेका छन् । प्रस्तुत छ मेयर पाण्डेयसँग गरिएको कुराकानीको सम्पादीत अंश :

बुटवल उपमहानगरपालिकामा बाढी, पहिरो र डुबानका कस्ता समस्याहरु छन् ? यसमा उपमहानगरपालिकाले पूर्व तयारी र समस्याको समाधानमा कस्ता पहलहरु गरिरहेको छ ?
बुटवल उपमहानगरपालिका भित्र तिनाउ दानव नदीले केही ठाउँमा क्षति पु¥याएको छ । यो हाम्रो पहिलेदेखिकै समस्या हो । यसको थायी बाँध नहँुदा समस्या भएको छ । जनताको तटबन्धन कार्यलय, सिँचाइ कार्यलय र बुटवल महानगरपालिकाको व्यवस्थापनमा विभिन्न ठाउँमा काम भइरहेका छन् । तिनाउ खोला वर्षेनी धार परिवर्तन गरेर बगिरहने हुनाले क्षतिको आंकलन गर्न सकिने अवस्था छैन । तिनाउले बुटवल उपमहानगरपालिकाको वडा नम्बर १, ३, ५, ९, ११, १७ र १८ वडालाई क्षति गर्छ । यो उपमहानगरको बिचबाट बगेको छ । त्यसैबाट छुट्टिएर गएको दानव नदी छ । त्यसले २, ११, १२, १३, १५ र १६ वडा भएर बग्छ । त्यसो हुनाले बुटवलको धेरै वडाहरु खोलासँग जोडिएर बगेका छन् । ती नदीमा वर्षायाममा पानीको मात्रा बढी हुने हुनाले यहाँ वर्षेनी विभिन्न निकायले ठूलो धनराशी खोलामा खर्च गर्न परिरहेको छ ।

त्यसैगरी बुटवलको ३ र ४ वडामा जोतीनगर पहिरो गत साल आएको थियो । त्यहाँ अझै पनि जोखिम छ । त्यो पहिरो बुटवलको शिरमा पर्छ । यो पहिरोको कारणले झण्डै साढे ३ सय घर जोखिममा परेका छन् । केही पुरिए, केही विस्थापीत भए । यस्ता पहिरोहरुले गर्दा बुटवल क्षतविक्षत भएको छ । अब यो बर्खामा कति क्षति हुने हो, चिन्ताको विषय बनेको छ । त्यसो हुनाले जब बर्खा लाग्छ पहिरो र बाढीको चिन्ता भइरहन्छ ।

पूर्व तयारीका लागि र भइरहेका विपत्तिहरुको समाधानका लागि विपद् समितिको बैठक बसेर हामीले विभिन्न कामहरु गरिरहेको छौं । ज्योतिनगर पहिरोमा नेपाली सेनासँग र प्रदेशको वन मन्त्रालयसँग समन्वय गरेर बाँसका बिरुवाहरु रोपेका छौं । त्यसैगरी तिनाउ खोलामा जहाँ कटान भएको छ, त्यहाँ तटबन्धनका कामहरु पनि गरिराखेका छौं । तर हाम्रो स्थानीय तहको बजेटले यस्ता ठूला विपत्तिहरु समाधान गर्न गाह्रो परिरहेको छ । अन्य विकासका काममा भन्दा पनि हामीले वर्षैपिच्छे विपद्मा धेरै बजेट खर्चिरहेका छौं । त्यसो हुनाले यस विषयमा पनि हामीले छलफल गरिरहेका छौं ।

तिनाउ र दानव नदीको किनारामा सुकुम्वासी र अव्यवस्थित वसोवास गर्ने परिवारहरु छन् । उहाँहरुले धेरै समस्या झेल्नुभएको छ । त्यसैगरी लालपुर्जा भएको क्षेत्र पनि धेरै छ । खोला ठूलो हुँदा घर छाडेर बाहिर जाने र खोला सानो भएपनि आउने गर्नेहरु पनि धेरै छन् । सुकुम्वासीहरुको लागि स्थायी रुपमा बसोवासको व्यवस्था मिलाउन हामीले सकिरहेका छैनौं । हामीलाई जग्गाको अभाव छ । आर्थिक रुपमा पनि हामीले त्यो गर्न सकिरहेका छैनौं । बुटवलमा अहिलेसम्म खासै धेरै मानिस विस्थापित भएका छैनन् । ज्यातिनगर पहिरोबाट दुई घर विस्थापित भएको छ । हामीले उहाँहरुको बस्ने व्यवस्था मिलाएका छौं । अहिले हामीले नगरवासीलाई सचेत बनाउने र विपद्को समाधान कसरी गर्ने भनेर एउटा समिति गठन गरेर सक्रिय बनाउने काम गरिरहेका छौं ।

उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा कुन-कुन क्षेत्रलाई बढी प्रथामिकता दिएको छ ?
हामीले असार २१ गते बजेट कार्यपालिका बैठकबाट पारित गरेका छौं । बजेटमा जनसहभागीतामा आधारित बजेटहरुलाई बढी महत्व दिएका छौं । बुटवलमा पहिलेदेखि नै धेरै कामहरु जनसहभागीतामा नै हुँदै आएका छन् । त्यसरी जनतासँग समन्वय हुने गरी कार्यक्रमहरु ल्याउँदा दिगो हुन्छ । शिक्षा, स्वास्थ, पूर्वाधार निर्माण र कृषिलाई नै बढी प्रथामिकता दिएर बजेट ल्याएका छौं । त्यसैगरी हामीले झण्डै २२ करोडका योजनाहरुलाई निरन्तरता दिएका छौं ।

कृषि र पर्यटन विकासको लागि कस्ता योजना छन् ?
पर्यटनको लागि हामीले वडा नम्बर १ मा ऐतिहासिक, पुरातात्विक र पर्यटकीय हिसाबले महत्वपुर्ण क्षेत्र भनेर त्यसको डीपीआर तयार गरेर अगाडि बढाउने योजना छ । त्यसमा हामीलाई विभिन्न दातृ निकायहरुले पनि सहयोग गर्नुभएको छ । कृषिका लागि वडा नम्बर १४ देखि १९ सम्म हरियाली सहरको रुपमा अगाडि बढाउने योजना छ । यसमा कृषि र पशुपालन पनि पर्छ । हामीले १९ विघा जमिनमा देशकै सबैभन्दा ठूलो कृषि भवन निर्माण गर्ने योजना छ । त्यसले स्थानीय उत्पादनहरुलाई पनि सहयोग पुग्छ ।

तपाईँ कार्यकालको सुरुवाती चरणमा हुनुहुन्छ । यो कार्यकालमा सामाजिक विकासका कस्ता योजनाहरुलाई समेट्नुहुन्छ ?
हामीले लक्षित वर्गको कार्यक्रमहरु अन्य क्षेत्रमा प्रयोग गर्दैनौं । लक्षित वर्गमा नै लागू गर्छौं । यो कुरा मैले सबैलाई प्रष्ट रुपमा भनेको छु । यसमा हामीले महिलाहरुको हकमा गृहणी महिला रोजगार कार्यक्रम ल्याएर महिलाहरुलाई रोजगार र उत्पादनसँग जोड्ने छौं । संघ र प्रदेश सरकारसँग मिलेर हामी विभिन्न तालिमहरु दिएर अगाडि बढ्नेछौं । यो कार्यक्रमा हामी सम्भव भएसम्म एक लाख महिलाहरुलाई जोड्न चाहान्छौं । दोस्रो हामीले जेष्ठ नागरिकहरुका लागि ‘जेष्ठ नागरिक मञ्च चौतारी’ निर्माण गर्ने छौं । त्यसैगरी बालबालिकाको लागि बालबालिकामैन्त्री नगर बनाउन तयारी गरिरहेका छौं ।

स्थानीय तह आएपछि गाउँगाउँमा भ्रष्टचार मौलायो भनिएको छ । उपमहानगरमा भ्रष्टचार हुन नदिन कस्ता नीति अवलम्बन गर्नुहुन्छ ?
हामी भ्रष्टचारशून्य होस् भन्ने चाहन्छौं । बुटवल उपमहानगरपालिकामा भ्रष्टचारलाई शून्यमा झार्न मैले सबैलाई सचेत गराइरहेको छु । त्यसो हुनाले सुशासनका लागि हामीले प्रयास गरिरहेका छौं । कहीँ पनि भ्रष्टचार हुन हुँदैन । यदि भएका छन् भने छानबिन गरेर कारबाही गर्न आवश्यक छ ।

विकासमा जनसहभागिता कसरी गराउनुहुन्छ ?
बुटवल उपमहानगरपालिकामा पहिलेदेखि नै सबै कामहरु ४०/६० को रेसियोमा हुँदै आएका छन् । यसरी धेरै कार्यक्रमहरुमा जनताको सहभागिता हुँदा विकासका कामहरु जनअपेक्षा अनुसारका हुन्छन् । बाटो, खानेपानी, विद्युत् जस्ता हरेक क्षेत्रमा जनसहभागितामा नै योजनहरु भइरहेका छन् । यसरी हरेक काम जनसहभागितामा गर्नु देशभरीमा नै बुटवल उदाहरणीय बनेको छ ।

जनप्रतिनिधिहरुले राजनीतिक आग्रह/पुर्वाग्रह राखेर काम गरे भन्ने छ । यसमा तपाईँको के छ धाराणा ?
काम गर्ने क्रममा कोही–कसैले कुनै पूर्वाग्रह राख्नु हुँदैन । अब छिट्टै पूर्वमेयरसहित सबै राजनीतिक दलका प्रतिनिधिहरुलाई राखेर छलफल गरेर हामी अगाडि बढ्छौं । सबै दल र जनताको भावना अनुरुप बुटवलको विकासमा हामी अगाडि बढ्ने छौं ।

केन्द्र र प्रदेश सरकारसँग कसरी समन्वय गरेर अगाडि बढ्नुहुन्छ ?
हामी प्रदेश र केन्द्र दुबै सरकारसँग राम्रो समन्वय गरेर अगाडि बढ्ने छौं । यहाँको आवशयक्ता र मागको आधारमा बजेट विनियोजन गर्न म सबैलाई आग्रह गर्छु । एकै ठाउँमा एउटै योजना पालिका र प्रदेशको पर्न हुँदैन । त्यसो हुनाले हामीले हरेक कुरामा समन्वय गरेर अगाडि जान पर्ने देखिन्छ । यस्ता कुरामा हामीले ध्यान दिएर काम गरिरहेका छौं ।

अन्त्यमा, सुकुम्वासीको समस्या कसरी समाधान गर्ने योजना छ ?
बुटवल उपमहानगरपालिकाको समस्या समाधानका लागि राष्ट्रिय भूमि आयोगले काम गर्दै हुनुहुन्छ । त्यसका लागि उपमहानगरपालिकाले सहयोग गरिरहेको छ । बसोवासको व्यवस्थापन प्रमाणपत्र वितरणको काम गरेर नगरपालिका भित्र सामान्य राजश्वको दायराभित्र ल्याएर समस्या समाधानका लागि प्रयासरत छौं । दीर्घकालिन रुपमा यसको समाधान राष्ट्रिय भूमिआयोग मार्फत लालपूर्जा वितरण गर्नु नै हो । यसलाई जतिसक्दो छिटो गर्न बुटवल उपमहानगरपालिकाले राष्ट्रिय भूमि आयोगसँग छलफल गरेर काम अगाडि बढाइरहेको छ ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार १६:२४   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।