Logo

समाचार

दाइले नै बुबाको हत्या गरेपछि १७ वर्षीया रमिताको बिचल्ली, लोकेन्द्र भन्छन्- पछुतो छैन 



बैतडी । बैतडीमा दाइले बुबाको हत्या गरेपछि एक किशोरीको विचल्ली भएको छ । डिलाशैनी गाउँपालिका–५ सेराका २४ वर्षीय लोकेन्द्र जोशीले शुक्रबार बिहान ५ बजे आफ्नै ६८ वर्षीय बुबा अन्तराम जोशीको बन्चरो प्रहार गरि हत्या गरे । बुबाको हत्या गरेका दाइ जेल जाने निश्चित भएसँगै १७ वर्षीया किशोरी रमिता बिचल्लीमा परेकी हुन् । रमिताकी आमाको १३ वर्षअघि नै मृत्यु भएको थियो । 

‘म चार वर्षकी छँदा आमाको मृत्यु भयो । बुवा, दाइ र म मात्र घरमा बस्थ्यौँ । अहिले दाइले नै बुबाको हत्या गरेपछि म एक्ली भएँ । मेरो कोही छैन,’ रमिताले भनिन् । चुहिने छानो भएको एक कोठाको घरमा बस्ने रमिताले अहिले कक्षा १२ को परीक्षा दिएकी छन् । उनको गाउँकै सबैभन्दा विपन्न परिवारमा पर्छ । 

लोकेन्द्रलाई डिलाशैनी गाउँपालिका अध्यक्ष सन्तोष जोशीका बुबा प्रदीपले लघु उद्यम सहजकर्ताको १८ महिने कोर्ष गराउन आर्थिक सहयोग गरेका थिए । तर, उनले उक्त कोर्ष पास गर्न सकेनन् । रमिताले भनिन्, ‘इडीएफ कोर्षमा पनि फेल भएको दाइले एसर्ईई पनि पास गर्न सकेका थिएनन् । दुई वर्ष भारत गएर ९ हजार रुपयाँ मात्रै पठाए, त्यो पैसाले गाई किन्याँै । त्यसबाहेक दाइको कमाई नै थिएन । हाम्रो सहारा बुवा मात्रै हुनुहुन्थ्यो । बुबालाई पनि दाइले हत्या गर्नु भयो । म एक्लै भएँ, अब म के गरौँ ? कहाँ जाउँ ? मेरो सहारा कोही छैन् ।’ 

यसरी भयो घटना, लोकेन्द्रलाई पछुतो छैन

अन्तराम जोशी बिहानै ५ बजे उठेर आँगनमा मोही पार्ने पारो धोइरहेका थिए । यसैबेला बन्चरोसहित ढोकाबाट बाहिर निस्केका छोरा लोकेन्द्रले बुबामाथि बन्चरो प्रहार गरे । पहिलो चोट लागेपछि पानी खोज्न गएका अन्न्तरामलाई पाँचपटक बन्चरो प्रहार गरे लोकेन्द्रले । लोकेन्द्रको बन्चरो प्रहारबाट अन्तरामको मृत्यु भयो । 

बुवाको हत्यापछि लोकेन्द्र धारातर्फ गएका थिए । धारामा भेटिएका गाउँलेलाई आफूले बुबाको हत्या गरेको बताए । त्यसपछि गाउँलेले प्रहरीलाई खबर गरे । ‘मैले केही समय अघिदेखि नै मार्ने योजना बनाएको हुँ । आज मात्रै मौका मिल्यो । मेरो नजरमा चारजना अरु पनि छन् । मैले घटना स्वीकार गरिसकेकाले एक वर्ष पनि जेल बस्दिन होला । मेरो खानामा थुक्ने, मलाई गाली गर्ने भएका कारण बुबा मारेको हुँ,’ लोकेन्द्रले भने । 

आफु मृतक अन्तरामको छोरा समेत नभएको लोकेन्द्र बताउँछन् । ‘मलाई उसले (अन्तराम) पालेको मात्रै हो । म उसको छोरा नै होइन,’ उनले भने । यसअघि नै १०–१२ पटक बुबाको हत्या गर्न  खोजेको उनको भनाइ छ ।

लोकेन्द्रले अन्तराम आफ्नो बुबा नभएको बताए पनि उनी छोरा भएको आफन्त बताउँछन् । स्थानीयवासीका अनुसार मृतकका दुई छोरी र एक छोरा छन् । जेठी छोरी राजमतीको विवाह भइसकेको छ भने कान्छी छोरी रमिता अविवाहित छिन् । राजमतीको घर महेन्द्रनगरमा छ  । 

बुबाको हत्या गर्नु केही दिन अघिदेर्खिे लोकेन्द्र कसैसँग नबोल्ने गरेको स्थानीयवासीको भनाइ छ । हत्याका अभियुक्तलाई कानुनअनुसार कारवाही हुने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकराज जोशीले बताए । डिलाशैनी गाउँपालिकाभरिका टुहुरा बालबालिकाका लागि नीति निर्माण गरि टुहुरा बालबालिका लक्षित कार्यक्रम ल्याउने गाउँपालिका अध्यक्ष सन्तोश जोशीले बताए ।  
 

प्रकाशित मिति : श्रावण १३, २०७९ शुक्रबार  ५ : ३१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।