Logo

प्रमुख समाचार

लमजुङमा करणी गरी प्रेमिकाको हत्या



लमजङ । लमजुङमा विवाहको अस्वीकार गर्दा सुन्दरबजार नगरपालिका– १ कुन्छामा एक २८ वर्षीया युवतीको करणीपछि हत्या भएको छ । स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा घाउचोट लागेको अवस्थामा जंगलको खोल्सामा युवतीको शव फेला परेको लमजुङका प्रहरी प्रमुख डीएसपी कृष्णबहादुर कार्कीले जानकारी दिए ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा स्थानीय २४ वर्षीय राम सुनारलाई पक्राउ गरेको छ । उनका अनुसार घटना सम्बन्धमा अनुसन्धान गर्दा सोही स्थानका सुनार र अछामीबीच विगत केही महिनादेखि प्रेम सम्बन्ध रहेको पाइएको छ ।

साउन १० गते मंगलबार साँझदेखि बेपत्ता भएकी लीला अछामीको बिहीबार दिउँसो खड्केपानीस्थित सामुदायिक वनमा शव भेटिएको थियो । बोल्न नसक्ने र कान पनि नसुन्ने अछामी लेख्न र सांकेतिक भाषामा कुरा गर्न जान्दथिइन् ।

सुनारले मंगलबार राति भेट्न बोलाई युवतीसँग शारीरिक सम्बन्ध राखेका थिए । शारीरिक सम्बन्धपछि युवतीले आफूसँग विवाह गर्न भनेपछि सुनारले हत्या गरेका बताइएको छ । मंगलबार ४ बजेतिर घरनजिकै रहेको दिदीको घर गएर साँझ ६ बजेतिर दिदीको घरबाट निस्केकी उनी अबेरसम्म घर नपुगेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।

आफू विवाहित भएकाले आफूहरूको सम्बन्धबारे समाजमा हल्ला हुने डरले सुनारले अछामीको घाँटी च्यापेर लडाएका थिए । तल भिरको खोँचमा पल्टाएर ढुंगाले टाउकोमा प्रहार गरी निर्मम तरिकाले हत्या गरेका प्रहरीले प्रारम्भिक अनुसन्धानमा खुलेको जनाएको छ ।

अभियुक्त सुनारले मृतकको मोबाइल तथा गरगहनाहरूसमेत घरमा लुकाइछिपाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ। लीलाको शवको जिल्ला अस्पताल लमजुङमा पोस्टमार्टमपश्चात् दाहसंस्कारका लागि आफन्तले जिम्मा लिएका छन् ।

घटनामा संलग्न अभियुक्त सुनारलाई बिहीबार पक्राउ गरी लमजुङ जिल्ला अदालतबाट शुक्रबार म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : श्रावण १३, २०७९ शुक्रबार  ७ : ४९ बजे