Logo

कर्पोरेट फोकस

5G के हो? ईन्टरनेटको दुनियामा यसको महत्व किन बढ्दै छ ?



हामीले मोबाइल डाटा खोल्दा माथि स्क्रिनमा 4G देखाउँछ र हाम्रो इन्टरनेट पुरै रफ्तारमा चल्न लाग्छ । नेपालमा त अहिले नेपाल टेलिकमले पुरै ७७ जिल्लामा 4G पुर्‍याइसकेको छ जसले गर्दा हरेकको हातमा रफ्तारको इन्टरनेट छ । हाम्रो इन्टरनेट अनुभवलाई अझै राम्रो बनाउन अहिले NTC ले 5G सम्म ल्याउने भनेको छ । 5G प्रविधि बिस्तारै हाम्रो जीवनमा लागू हुने हुँदा के हो त 5G भनेर बुझ्न आवश्यक छ । आखिर के हो त 5G ?

5G ५ औँ पुस्ताको मोबाइल नेटवर्क हो। यसले यस्तो प्रकारको नेटवर्क सञ्जाल सक्षम पार्छ जुन मेसिन, वस्तु र यन्त्रहरू सहित सबै कुरालाई एकसाथ जोड्नको लागि सक्षम हुन्छ । 1G, 2G, 3G र 4G नेटवर्क पछि अब प्रविधिको अझै विकास हुँदै 5G सुरु भएको हो ।

सुरुमा 1G आउँदा त्यसले आवाज कल मात्र समर्थन गर्दथ्यो भने 2G टेलिफोन प्रविधिले एसएमएस, पिक्चर म्यासेज र एसएमएस जस्ता सुविधा दियो । 3G बाट छिटो डेटा-ट्रान्समिसन सम्भव भयो जसबाट भिडियो कलिङ र मोबाइल इन्टरनेट प्रयोग गर्न सम्भव भयो । 4Gले अझै छिटो डाटा ट्रान्समिसन गर्नुको साथै मोबाइलदेखि टिभीसम्म HD, गेमसङ सेवाहरू, भिडियो कन्फरेन्सिङ जस्ता अन्य सुविधाहरू दियो ।

आखिर के सुविधा छन् त 5G मा जसले यसलाई अहिले सबैको संवादको विषय बनाएको छ ?

5G का फाइदाहरु:

इन्टरनेट स्पिड

5G ले दिने रफ्तार 4G भन्दा १०-१०० गुणा बढी भइदिन सक्छ, जसले गर्दा हामीले केही डाउनलोड गर्न खोजेमा भर्खरै नै डाउनलोड हुन्छ। यसले लगभग १० Gbps को स्पिड दिन्छ भने 4G ले जम्मा १००-२०० Mbps को स्पिड दिन सक्छ ।

लेटेंसी

हामीले पठाएको डाटा गन्तव्यमा पुग्न लाग्ने समय वा अन्तैबाट पठाइएको डाटा हाम्रो डिभाइसमा आउन लाग्ने समयलाई लेटेंसी भनिन्छ । 5G को लेटेंसी ५ मिल्लिसेकेंड छ भने 4Gको लेटेंसी २०० मिल्लिसेकेंड हुन्छ, जुन झ्याप्प सुनिदा धेरै फरक नलाग्ला तर यसले प्रविधिमा पार्ने असर धेरै ठुलो हुन्छ ।

5G को नयाँ प्रविधिले हाम्रो दैनिक इन्टरनेट अनुभवलाई राम्रो बनाउन मात्र सीमित छैन। 5G द्वारा एआर (AR), भीआर (VR), रिमोट सर्जरी, स्वचालित कार, स्मार्ट सिटी आदि थुप्रै प्रविधि र आविष्कारको बाटो खुल्छ जुन अहिलेसम्म विकसित कुनै पनि मोबाइल नेटवर्कसँग सम्भव थिएन। 5G बाट औद्योगिक स्वचालन सम्भव हुन्छ ।

स्वसञ्चालित कारहरूलाई अझै प्रभावकारी बनाउन 5G ले धेरै मद्दत गर्छ। सडक सङ्केत, खतरा र सडक पार गर्ने मानिसहरूको क्रियाकलापबारे गाडीले मिलिसेकेन्डमा सन्देशहरू पठाउन र प्राप्त गर्न सक्नुपर्छ । 5G को लेटेंसी एकदम थोरै भएको हुँदा ती आवश्यक सन्देशहरू एकदम छिटो आउने हुँदा यो प्रविधिले स्वचालित कारको भविष्य सम्भव बनाउन सामर्थ्य राख्दछ ।

प्रकाशित मिति : श्रावण २०, २०७९ शुक्रबार  १० : ५८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।