काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद्को आयु लम्ब्याउने विधेयकप्रति गम्भी आत्ति प्रकट गरेको छ । प्रतिनिधिसभामा केही नेपाल ऐन संशोधनमार्फत दर्ता गराएर सरकारले संसद्को आयु लम्ब्याउने प्रयास गरेपछि एमालेले आपत्ति जनाएको हो ।
विधेयकमाथि चौतर्फी आलोचना भएपछि सरकार विधेयक संशोधनका लागि तयार भएको छ । यही प्रक्रियाका लागि नेकपा एमाले र नेपाली कांग्रेसका सासदहरुले संशोधन दर्ता गरेका छन् । संशोधनकर्ताहरुको तर्फबाट बोल्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले सरकारले अहिले भएको ऐन संशोधन गर्नुपर्नेमा गलत काम गरेको दाबी गरे । विगतमा समय हुँदाहुँदै सरकारले काम नगरेको तर अहिले त्रुटीपूर्ण काम गरेको उनले बताए ।
उनले सरकारले दुईखाले सांसद् खडा गर्न खोजेको टिप्पणी गरे । चुनावको घोषणासँगै कार्यकाल सकिनुपर्नेमा नसकिएको उनको भनाइ छ । उनले मंसिर ५ गते परिणाम आयो भने एउटा जितेको सांसद हुने र अर्को हारेको तर, लोगो उसैसँग हुने बताए ।
‘दुईखाले सांसद खडा गर्ने प्रयास गरिएको छ । एमालेले त्यसलाई मान्यता दिँदैन । नोमिनेसनको अघिल्लो दिन प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल समाप्त हुनुपर्छ’, भट्टराईले भने, ‘प्रमुख प्रतिपक्ष दलको पनि सर्मथनमा ल्याएको भनिएको सुनियो। तर, म समेत उपस्थित बैठकमा राखेको प्रस्तावमा सर्मथन छैन भनेको थिएँ । प्रतिनिधिसभाको कार्यकालका बारेमा राखिएको प्रस्तावमा गम्भीर आपत्ति छ।’
यस्तै, एमालेका सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङले संसद्को आयु बढाउने विधेयक फिर्ता लिनुपर्ने माग गरे । संशोधनकर्ताहरुको तर्फबाट बोल्दै सांसद तामाङले लोकतन्त्रमा लोकको मत नै सबै कुरा हुने भएकाले नयाँ निर्वाचनपछि सांसदहरुको कार्यकाल राख्ने कुरा स्वीकार नहुने बताए ।
‘अर्को संसद् आउने समयसम्म तलब भत्ता खाएर बस्न सुहाउँदैन। लोकतन्त्रमा लोकले निर्णय गर्ने हो ’ उनले भने ‘म्याद बढाउने कुरा फिर्ता लिनुस् । हैन भने संशोधन गर्नुस् । आजैको बैठकबाट सरकारले यो विधेयकलाई फिर्ता लेओस् ।’




















प्रतिक्रिया