Logo

प्रमुख समाचार

निर्वाचन आचारसंहिताविरुद्धको रिटमाथिको सुनुवाइ आज



काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनार्थ जारी निर्वाचन आचारसंहिताविरुद्ध सर्वोच्च अदालतमा परेकाे रिटमा आज पेशी चढ्दै छ । यही भदाै १३ गते निर्वाचन आयाेगद्वारा जारी आचारसंहिताले राजनीतिमा भएको अपराध र अपराधको राजनीतिकरणलाई थप संस्थागत बनाउने जिकिर गर्दै अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले मंगलबार रिट दायर गरेका हुन् । अधिवक्ता पौडेलले रिटमा परम्परागत राजनीतिमा मौलाएको बेथितिलाई थप मलजल गर्न बल पुग्ने गरी आएको आचारसंहिता सच्याउने गरी विभिन्न तीनवटा प्रकरणमा परमादेशको माग गरेका छन् ।

रिटमा राजनीतिमा भएको अपराध र अपराधको राजनीतिकरणलाई रोक्न व्यापक अध्ययन, अनु्सन्धान गरी कानूनी संरचना तयार गर्न आवश्यक पर्ने कार्य गर्नु भनी, उम्मेदवारको आर्थिक, सामाजिक र राजनीतिक एवम् कानूनी विगत र वर्तमान प्रष्ट हुने विवरण माग्ने र त्यस्तो विवरण गलत वा झुठा भएमा उम्मेदवारी एवम् निर्वाचित भएमा निर्वाचित पद समाप्त हुने गरी कानूनी संरचना तयार गर्न आवश्यक पर्ने कार्य गर्नु भनि परमादेश माग गरिएको छ ।

त्यसैगरी, आागमी मंसिर ४ को निर्वाचनलाई मध्यनजर गरेर राजनीतिक दल र उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चको अधिकतम सीमा निर्धारण गर्नु र मतदाताको जानकारीको लागि प्रत्येक उम्मेदवारलाई निजको शैक्षिक योग्यता, फौजदारी कसुरमा मुद्दा चलेको वा सजाय पाएको अवस्था, तिर्नुपर्ने राजश्व तिरेको अवस्था र अदालती दण्ड जरिवाना लागेको भए सो तिरेको अवस्था झल्किने गरी घोषणा गर्न लाउनु भनी सर्वोच्च अदालत निययमावली, २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गर्न समेत अधिवक्ता शर्माले माग गरेका छन् ।

उनको रिट निवेदनमा निर्वाचन आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाइएको छ । उनले नेपालको संविधानको धारा २, १६, १७, १८, ४६, ४८, ८४, १४४(१) र (२), १७६, २६९, २७० र २७१, राजनीतिक दल सम्बन्धि ऐन, २०७३ को दफा ११, २२, २३, २४, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२, १३, ३८, प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२, १३ र ३८ एवम् निर्वाचन आयोग ऐन २०७३ को दफा २२ र २३ समेतका आधारमा रिट निवेदन लिएर न्याय माग्न अदालतमा उपस्थित भएको उल्लेख गरेका छन् ।

निर्वाचनसम्बन्धी आचारसंहितामा आयोगले उम्मेदवारको खर्चको सीमा निर्धारण नगरेकोले यसले आर्थिक चलखेल हुने, स्वस्थ प्रतिस्पर्धा हुन नसक्ने चिन्ता पौडेलले रिट विेदन मार्फत व्यक्त गरेका छन् । यसका साथै राज्यलाई तिर्नु पर्ने राजश्व तिरेको वा नतिरेको एवम् उम्मेदवारमाथि कुनै फौजदारी कसूरको अपराधमा मुद्दा चलेको वा नचलेको र चलेको भए मुद्दा कुन अवस्थामा रहेको भन्नेबारे मतदाताले स्पष्ट थाहा पाउने गरी पारदर्शीता अपनाउनु पर्ने उनको माग छ ।

यस पटक हुन लागेको निर्वाचनमा बलात्कारको मुद्धा विचाराधीन अवस्थामा रहेका मुगुका सांसद मोहनबहादुर बानियाँ, जिउँदै मानिसहरुलाई ईंटा भट्टामा हालेर हत्या गरेको अभियोगमा नक्खु कारागारमा जेल जीवन बिताइरहेका मोहम्मद अफ्ताव आलम, भ्रष्ट्राचारको अभियोग लागेका वियकुमार गच्छदार, कैलालीमा सामूहिक हत्याको अभियोगमा जेलमा रहेका रेशम चौधरी तथा गुणनाइकेको आरोपमा पटक–पटक पक्राउ परेका व्यक्तिहरुसमेत दलहरुको सिफारिसको प्राथमिकतामा परेका छन् । यस्तो अवस्थामा अधिवक्ता शर्माले दायर गरेको रिटलाई चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार ०९:०३   :  बजे

390
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।