काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दा नेपाली कांग्रेसका तल्लो तहले मनोमानी रुपमा शुल्क लिएको पाइएको छ । उम्मेदवार सिफारिसका क्रममा कुनै पनि शुल्क नलिन केन्द्रले दिएको निर्देशन विपरित शुल्क उठाइए पछि केन्द्रीय कार्यालयमा उजुरी परेको छ ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा केन्द्रको निर्देशन विपरित उम्मेदवारी सिफारिस बापत शुल्क लिएपछि केन्द्रीय कार्यालयमा उजुरी परेको हो । काठमाडौं महानगरपालिका कार्यसमिति सभापतिका उम्मेदवार प्रगतिमान रञ्जित, पूर्व क्षेत्रीय सभापति तथा वडा नम्बर १७ का पूर्व वडाध्यक्ष विजय माली र महाधिवेशन प्रतिनिधि मनोज रानाले उम्मेदवारी सिफारिस बापत लिइएको शुल्क फिर्ता गर्नुपर्ने भन्दै केन्द्रीय कार्यसमितिमा उजुरी दिएका हुन् ।
‘गैरकानुनी तथा विधान विपरित जबरजस्ती उम्मेदवारहरूको नाम सिफारिस गर्दा असुल गरिएकाहरुको रकम फिर्ता गराई पाउँ भनी यो संयुक्त निवेदन गरेका छौँ,’ भदौ १८ गते दिइएको उजुरीमा भनिएको छ। क्षेत्र नम्बर ७ ले उम्मेदवारी सिफारिसका क्रममा प्रतिनिधिसभा प्रत्यक्षतर्फ जनही ५० हजार, समानुपातिकतर्फ ३५ हजार र प्रदेशसभा प्रत्यक्षतर्फ ३५ हजार र समानुपातिकतर्फ २५ हजार रुपैयाँ शुल्क लिएको थियो ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवारका लागि प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा निवेदन दिएका तीनै जनाले उजुरीमा क्षेत्रीय सभापति मुकुन्द रिजालमाथि कारबाहीको माग पनि गरेका छन् । ‘पार्टीको निर्देशन विपरित कार्य गर्ने क्षेत्रीय सभापति मुकुन्द रिजाललगायत कार्यसमिति समेतलाई अनुशासनको कारबाही गरी पार्टीलाई विधानसम्मत सञ्चालन गर्नका लागि आवश्यक निर्देशनसमेत गरी पाउँ,’ उजुरीमा उल्लेख छ।
कांग्रेसले भदौ १३ गते कार्यसमितिहरूलाई परिपत्र गरेर पार्टीका तर्फबाट सिफारिस हुने उम्मेदवारबाट कुनै शुल्क नलिन निर्देशन दिएको थियो । ७ प्रदेश कार्यसमिति, ७७ जिल्ला कार्यसमितिले, १६५ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र ३३० प्रदेशसभा क्षेत्रीय कार्यसमितिलाई गरिएको परिपत्रमा उम्मेदवारको नाम सिफरिस गर्दा कुनै प्रकारको रकम माग नगर्न–नउठाउन भनिएको भएपनि रकम उठाइएको पाइएको हो ।




















प्रतिक्रिया