Logo

प्रमुख समाचार

निर्वाचन आचारसंहिता विरुद्धको रिटमा सर्वोच्चले माग्यो दुवै पक्षको जवाफ



काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जारी आचारसंहिताविरुद्ध दायर रिटमा सर्वोच्चले दुवै पक्षको जवाफ माग गरेको छ । निर्वाचन आयोगले भदौ १३ गते जारी गरेको आचारसंहितामाथि प्रश्न उठाउँदै अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले दायर गरेका रिटमाथि आज (बिहीबार) सुनुवाइ गर्दै सर्वोच्चले यसतो आदेश दिएको हो ।

न्यायाधीश कुमार रेग्मीको इजलासले भदौ २७ गते छलफलका लागि दुवै पक्षलाई बोलाएको रिट निवेदक शर्माले अनलाइनपानालाई जानकारी दिए । सर्वोच्चले आयोगलाई रिट निवेदकको माग बमोजिम अन्तरिम आदेश किन दिनु नपर्ने हो ? भन्दै छलफलमा बोलाएको हो ।सर्वोच्चमा

निवेदकको तर्फबाट अधिवक्ता कीर्तिनाथ शर्मा पौडेल, वरिष्ठ अधिवक्ताहरु ध्रुवलाल प्रधान, सुरेन्द्र भण्डारी तथा अधिवक्ताहरु काशीप्रसाद घिमिरे, राजकुमार थापा, रामबहादुर राउत, सन्तोष भण्डारी, देवबहादुर महत, नवराज पाण्डे, वीरभद्र जोशी र विष्णुप्रसाद अर्यालले बहस गरेका थिए ।

आचारसंहिताले राजनीतिमा भएको अपराध र अपराधको राजनीतिकरणलाई थप संस्थागत बनाउने जिकिर गर्दै निवेदक शर्माले मंगलबार रिट दायर गरेका थिए । आयोगले जारी गरेको आचारसंहिता अस्पष्ट, गोलमटोल र देशमा राजनीतिक अपराध मौलाउने खालको भएको भन्दै विभिन्न प्रकरण खुलाई अधिवक्ता शर्माले दायर गरेका रिटको सुनुवाइ बिहीबार भएको हो ।

अधिवक्ता शर्माले निर्वाचन आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाइ रिट दायर गरेका हुन् । निर्वाचनसम्बन्धी आचारसंहितामा आयोगले उम्मेदवारको खर्चको सीमा निर्धारण नगरेकोले यसले आर्थिक चलखेल हुने, स्वस्थ प्रतिस्पर्धा हुन नसक्ने चिन्ता शर्माले रिट निवेदनमार्फत व्यक्त गरेका छन् । यसका साथै राज्यलाई तिर्नु पर्ने राजश्व तिरेको वा नतिरेको एवम् उम्मेदवारमाथि कुनै फौजदारी कसूरको अपराधमा मुद्धा चलेको वा नचलेको र चलेको भए मुद्धा कुन अवस्थामा रहेको भन्नेबारे मतदाताले स्पष्ट थाहा पाउने गरी पारदर्शिता अपनाउनु पर्ने उनको माग छ ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार १६:१७   :  बजे

282
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।