काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा निर्वाचन आफूले चितवन– ३ बाटै लड्ने स्पष्ट पारेका छन् । पार्टीले देशका विभन्न निर्वाचन क्षेत्रबाट नाम सिफारिस गरेको भए पनि ०७४ कै निर्वाचन क्षेत्र चितवन– ३ बाट चुनाव लड्ने उनले बताएका हुन् ।
प्रेस सेन्टर कास्कीले शुक्रबार बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले चुनाव जित्नेमा आफू विश्वस्त रहेको बताउँदै चितवनबाट दायाँबायाँ नगर्ने बताए । उनले भने, ‘यसपटक म चितवनबाटै चुनाव लड्छु। जित्छु भन्नेमा विश्वस्त छु। मैले अहिले चिवतन छाड्दा राम्रो सन्देश जाँदैन।’ विगतमा आफूले विभिन्न जिल्लाबाट चुनाव लडेर प्रचण्ड देशभरीका जनताको हो भन्ने सिद्द गर्न खोजेको बताए ।
प्रचण्डले सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको विषयमा ठूलो समस्या नरहेको समेत बताए । सहमति र समझदारीको निकट पुगिसकेको उनको दाबी छ । उनले भने, ‘नेताहरुको अन्यत्र कार्यक्रम नपरेको भए हिजै टुंगोमा पुगिसक्ने थियो। आज ३ बजेपछि शीर्ष नेताको बैठक बसेर टुंगोमा पुग्नेछौँ।’
अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा र राष्ट्रियसभाले फेरि दोस्रोपटक पारित गरी पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नेमा आफू विश्वस्त रहेको पनि बताए।
दोस्रोपटक पारित गरेर पठाइसकेपछि अब संविधानले कसैलाई पनि यताउती गर्ने अधिकार नदिएको उल्लेख गर्दै उनले राष्ट्रपतिले योपटक प्रमाणीकरण गर्ने विश्वास व्यक्त गरे । लाखौँ नेपाली नागरिकताविहीन हुँदा उनीहरुको वृद्धि विकास सबै क्षेत्रमा असर परेको भन्दै त्यस्तो अफ्ठ्यारो अवस्थामा रहेका नेपालीलाई राष्ट्रपतिले बचाउनेमा आफू आशावादी रहेको प्रचण्डले बताए ।




















प्रतिक्रिया