काठमाडौं । सत्तारूढ गठबन्धनको सिट बाँडफाँट कार्यदलले बुझाएको अधुरो प्रतिवेदनलाई पूर्णता दिन शीर्ष नेताहरू छलफलमा जुट्दै छन् । आज (शुक्रबार) दिउँसो ३ बजेपछि हुने छलफलमा मिल्न बाँकी ३२ सिटका विषयमा सहमति जुटाउने प्रयास हुनेछ ।
यी सिटमा गठबन्धनका चारै दलले जितको सम्भावना देखेपछि बाँडफाँट जटिल बनेको बताइएको छ । कांग्रेसले दाबी गरेको ४७ सिट, माओवादीले दाबी गरेको १२ सिट, एकीकृत समाजवादीले दाबी गरेको ९ सिट, जसपाले दाबी गरेको ११ सिटमा दोहोरो दाबी छैन । एमाले बलियो प्रभाव रहेका केही सिट सकेसम्म कांग्रेसको जिम्मा लगाउने प्रयासमा साना दल छन् ।
कार्यदलको छलफलपछि बिहीबार नै बसेको शीर्ष तहको बैठक पनि विनानिष्कर्ष टुंगिएको थियो । कार्यदलले सहमति जुटाउन नसकेका सिटहरुमा समझदारी खोज्न शीर्ष नेताहरुलाई नै सकस पर्ने देखिएको छ । आफ्नो दाबीबाट कुनै पनि दल टसमस नहुँदा भागबण्डा मिलाउन सकस भइरहेको छ ।
न्यायोचित रुपमा सिट बाँडफाँट नभए गठबन्धनको कुनै अर्थ नहुने चेतावनी समेत जसपा र एकीकृत समाजवादीले दिइसकेका छन् ।




















प्रतिक्रिया