Logo

राजनीति

हामी अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप नगर्ने काउन्सिलको पक्षमा छाैं : उपाध्यक्ष अर्याल



काठमाडौं । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष नकुल अर्यालले आफूहरु स्वायत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप नगर्ने काउन्सिलको पक्षमा रहेको बताएका छन् । उनले मिडिया काउन्सिलको नाममा ‘निजामती अड्डा’ नबताउन चेतावनी समेत दिएका छन् ।

संसदमा विचाराधीन मिडिया काउन्सिल विधेयकबारे सञ्चार केन्द्र नेपालले आयोजना गरेको अन्तरक्रियामा बोल्दै उपाध्यक्ष अर्यालले समग्र पत्रकारिता क्षेत्रको अनुगमन र नियमन प्रस्तावित मिडिया काउन्सिलको संरचनाबाट सम्भव नहुने बताएका हुन् ।

“अहिले प्रस्ताव गरिएजस्तो सचिवको सिफारिसमा मिडिया काउन्सिलका नाममा अर्को निजामती अड्डा बनाउने कुरा हामीलाई स्वीकार्य छैन । हामी स्वतन्त्र , स्वायत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप नगर्ने काउन्सिलको पक्षमा छौ,” अर्यालले भने ।

विगतमा नेकपा नेतृत्वको सरकारले ल्याएको विधेयकमा केही संशोधन गरिएपनि पर्याप्त नभएको उनले बताए । अर्यालले पार्टीको प्रचारमा खटिएकाहरुलाई मिडिया काउन्सिलमा नियुक्ति नदिने प्रावधान हुन नहुने बताए । संसदीय समितिले सञ्चार क्षेत्रले उठाएका माग सम्बोधन गरेर मात्रै विधेयक अगाडि बढाउनुपर्नेमा अर्यालको जोड थियो ।

प्रेस युनियन सधै लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारको पक्षमा उभिने भन्दै उपाध्यक्ष अर्यालले युनियनको हालै सम्पन्न केन्द्रीय समिति बैठकले विधेयकका त्रुटीहरु सच्याउन सरकारसँग माग गरेको जानकारी दिए ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आईतवार १९:१९   :  बजे

246
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।