स्थानीय सरकारका सय दिन पुरा भएको छ । केही पालिकाहरुले सय दिनमा आफूले गरेका कामहरु, महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरेका छन् । यो सुरुवाती चरणमा केही पालिकाले राम्रा सुरुवात गरेका छन्, भने कतिपय पालिकाहरु आन्तरिक झमेलामा अल्झिएर बजेट समेत पास गर्न सकेका छैनन् । समयै बजेट ल्याएर कार्यान्वयनमा अघि बढेका पालिकामध्येको एक नुवाकोटको दुप्चेश्वर गाउँपालिका पनि हो । दुप्चेश्वरले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य र पर्यटनलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । यीसहित पालिकाको समग्र विषयवस्तुमा केन्द्रित रहेर अनलाइनपानाका लागि रामनाथ कुँवरले अध्यक्ष शंकरबहादुर थापासँग गरेको कुराकानी :
कार्यकालको प्रारम्भमा दुप्चेश्वर गाउँपालिका कसरी अगाडि बढिरहेको छ ?
हामी निर्वाचित भएर आएपछि दुप्चेश्वरमा अव्यवस्थित रुपमा रहेको प्रशासनिक अवस्थालाई सुदृढ गर्न जोड दिएका छौं । पालिकालाई विस्तारै सुशासन तर्फ लैजाँदै छौं । हाम्रो गाउँपालिका दुरिको हिसाबले राजधानी काठमाडौंबाट निकट तर भौगोलिक हिसाबले अति विकट छ । वैशाखबाट असोजसम्म यहाँ बाटोेहरु बन्द हुन्थे । हामीले अहिले सबै वडाहरुका बाटोहरु सञ्चालन गरेका छौं । दुईवटा जेबीसीलाई परिचालन गरेर हामीले बाटो सञ्चालन गरेका हौं । त्यसैगरी सुर्यमती खोला तर्फ घ्याङफेदी नजिक घ्याङ खोलामा कलभर्ड पुल बनाएका छौं । त्यहाँ वैशाखदेखि कार्तिक महिनासम्म खोला तर्न सकिँदैनथ्यो । धेरै बाटो घुम्न पर्ने समस्या थियो । त्यो समस्या समाधान भएको छ ।
गत साउन २४ गते आएको अविरल वर्षा पछिको बाढीले समुन्द्रटारदेखि ढिकुरेसम्मको सात वटा पुललाई क्षति गरेको छ । तर हामीले बनाएको त्यो पुललाई कुनै क्षति भएको छैन । झगरे खोलामा पनि कलभर्ड पुल बनाएका छौं । ती दुवै पुललाई बाढीले नाघेर जाँदा पनि बगाएको छैन । त्यसैगरी २४ गतेको अविरल वर्षाले समुन्द्रटारदेखि रामतिसम्म १०० वटा जति पहिरो गएको थियो । त्यो क्षति हेर्न धेरै सांसदहरु, मन्त्री र नेताहरु आएका थिए । सडक विभागले बाटो बनाउन एक महिना लाग्ने बताएको थियो । तर जनताले हामीलाई छिट्टै बाटो खुलाउन आग्रह गरेकोले हामीले पाँच वटा जेबीसी परिचालन गरेर पाँच दिनमा बाट सुचारु गरियो । अहिले पनि पानी परेपछि बाटो अवरोध हुन्छ ।
हामीले अवरोध हटाउने काम गरिरहेका छौं । पहिरोबाट पीडित परिवारलाई टेन्ट लगायतका सामग्रीहरु वितरण गरियो । त्यो दिनको बाढी पहिरोले धेरै खेतबारीमा क्षति गरेको छ । सयौं रोपनी खेत पुरिएको छ, क्षति नभएको ठाउँमा पनि सिँचाइ रोकिएको छ । अस्थाइ सिँचाइ गर्न हामीले पाइप किन्ने प्रक्रिया सुरु गरेका छौं । स्वास्थ्यको क्षेत्रमा पनि हामीले लक्षित वर्गलाई समेटेर विभिन्न कामहरु गरिरहेका छौं । त्यसैगरी स्वास्थ्य संस्थामै सुत्केरी गराउन हामीले चार हजार उपलब्ध गराएका छौं । एम्बुलेन्स पनि उपलब्ध गराएका छौं । हामीले आमा र बच्चालाई कुनै जटिल समस्या आउँदा राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत अस्पताल लैजाने गरेका छौं ।
तपाईँको कार्यकालमा अर्थात् आगामी ५ वर्षभित्रमा पालिका कस्तो बन्ला ?
हामीले अहिले नै पाँच वर्षमा के–ेके गर्ने भनेर योजना बनाइसकेका छैनौं । यसमा हामी सबै क्षेत्रका विज्ञहरुसँग छलफल गरेर पाँच वर्षे योजना तयार गर्नका लागि हामीले बजेट पनि विनियोजन गरेका छौं । शिक्षामा हामीले आमुल परिवर्तन गर्नु पर्ने छ । अहिलेको परम्परागत शिक्षाले मात्रै हामी समृद्धिमा अगाडि बढ्न सक्दैनौं । शिक्षालाई प्रविधिसँग जोडेर गुणस्तरीय पठनपाठन गरेर निजी विद्यालयमा जानेहरुलाई सामुदायिक विद्यालयमा आउन मन लाग्ने बनाउने गरी शिक्षाको विकास गर्ने छौं । सबै विद्यालयमा अनुगमनलाई चुस्तदुरुस्त बनाउने हाम्रो योजना छ ।
कृषिमा पनि हामी प्रभावकारी योजनाहरु बनाउँदै छौं । गाउँमा एकातले सरकारबाट साथ पाएर कृषि गर्नु भन्दा समुदायकै आयस्तर उकास्न अलि फराकिलो ढंगले कसरी जान सकिन्छ भनेर हामीले विज्ञहरुसँग छलफल गरेर अगाडि बढ्ने योजना बनाएका छौं । हाम्रो दुप्चेश्वर गाउँपालिका पर्यटनको पनि एकदमै राम्रो सम्भावना भएको पालिका हो । दोस्रो पशुपतिको रुपमा चिनिने मन्दिर दुप्चेश्वर महादेव हाम्रै पालिकामा छ । यसैको नामबाट हाम्रो पालिकाको नाम राखिएको हो ।
त्यसलाई राम्रोसँग व्यवस्थित गर्ने हाम्रो योजना रहेको छ । त्यसैगरी हाम्रो पालिकामा अन्य रमणीय प्राकृतिक स्थानहरु पनि रहेको छ । नुवाकोट जिल्लाकै सबैभन्दा उच्च स्थानमा रहेको ताल सूर्यकुण्डलाई पनि हामीले व्यवस्थापन गरेर चिनाउन जरुरी छ । सूर्यकुण्ड हुँदै गाेसाइकुण्ड पुग्न सकिन्छ । त्यो ताललाई पर्यटकीय रुपमा विकास गर्दा हाम्रो पालिकाको साथसाथै जिल्लाकै महत्वपूर्ण स्थान बन्छ । विश्वमै दुर्लभ रेडपाण्डा हाम्रो पालिकामा छ । यसरी हाम्रो पालिकामा धेरै पर्यटकीय सम्भावनाहरु छन् । तर व्यवस्थापन गर्न स्रोत कम छ ।
माथिल्लो तहको सरकारसँग समन्वय कसरी गर्दै हुनुहुन्छ ? सहयोग मिलिरहेको छ संघ र प्रदेशबाट ?
पालिकामा नियम अनुसार आउने परम्परागत समानीकरण बजेट मात्रै आइरहेको छ । विषेश बजेट आएको छैन । आन्तरिक स्रोत हाम्रो खासै केही छैन । अब हामीले प्रदेश र संघसँग राम्रा योजनाहरु ल्याउन पहल गर्ने छौं । अहिले हामी पालिकाका कर्मचारी संयन्त्र र प्रशासनिक पक्षलाई व्यवस्थित गरेर केन्द्र र प्रदेशमा नयाँ सरकार आएपछि पालिकाको विकासका लागि पहल गर्ने छौं । अहिलेसम्म भने हामीले माथिको सरकारहरुसँग यहाँको समस्या र आवश्यक्ताको विषयमा छलफल गर्न पाएका छैनौं । यसबारे कुरा राखेपछि अवश्य सहयोग मिल्छ भन्ने विश्वास छ ।
केही पालिकामा कर्मचारी अभाव भए, भएकाहरु पनि अदक्ष भन्ने सुनिएको थियो । दुप्चेश्वरको अवस्था कस्तो छ ?
तपाईँले भने जस्तै हाम्रो पालिकामा पर्याप्त कार्मचारी छैनन् । त्यसमा पनि स्थायी कर्मचारी भन्दा करारका कर्मचारीहरुको संख्या धेरै छ । करारका सबैलाई हटाउँदा काम प्रभावित हुन्छ । राख्दा पनि प्रभावकारी काम हुन सकेको छैन । कर्मचारीको व्यवस्थापन केन्द्र सरकारले गर्ने हुँदा पनि हामीलाई केही असहज भइरहेको छ । पालिकाले समग्र क्षेत्रको विकास गर्न सबै क्षेत्रका दक्ष कर्मचारी आवश्यक हुन्छ । तर त्यो हुन सकेको छैन ।
स्थानीय तहमा भ्रष्टचार भएका समाचारहरु अघिल्लो कार्यकालमा प्रशस्तै आएका थिए । यसलाई रोक्न दुप्चेश्वरले कस्तो नीति अबलम्बन गर्दैछ ?
पालिकामा अध्यक्षका लागि सबै भन्दा ठूलो चुनौती यस विषयमा नै रहेछ । यस अगाडिको कार्यकालमा कतिपय स्थानीय तहहरुमा जनप्रतिनिधिले कर्मचारीलाई नियमन गर्न नसकेको जनप्रतिनिधि र कर्मचारीकै मिलेमतोमा नै यस्ता गतिविधि हुने गरेको कुराहरु सुनियो । जनताले पनि अनियमितता भएको कुरा महसुस गरे । त्यसो हुनाले अहिले हाम्रो ध्यान नीति प्रक्रियालाई नै चुस्त दुरुस्त बनाउनमा छ ।
यस अघिको कार्यकालमा अध्यक्षले कोठा भाडा, भान्छे जस्ता सुविधाहरु लिनुभएको रहेछ । तर म यस्तो सुविधा केही पनि लिन्न । आफ्नो घरको ढिँडो, रोटी खाएर यो कार्यकालमा जनताको सेवामा लाग्ने छु । कर्मचारीहरुलाई र अरु जनप्रतिनिधिहरुलाई पनि मैले सबै काम विधि अनुसार गर्न आग्रह गरेको छु । त्यसो हुनाले म यो कार्यकालमा दुप्चेश्वरमा भ्रष्टचार हुन दिने छैन । पालिकावासीलाई पनि मैले हाम्रो कमिकमजोरीमा प्रश्न उठाउन भनेको छु ।
दुप्चेश्वरवासीलाई थप केही भन्नु छ ?
हामी दुप्चेश्वरवासीले चुनेर पठाएका जनप्रतिनिधि हौं । यो टिमलाई जिताउँदा हाम्रो अपेक्षा पूरा हुन्छ भनेर हामीलाई निर्वाचित गराउनुभएको हो । उहाँहरुको अपेक्षालाई हामी कुनै पनि हालतमा असफल बनाउँदैनौं । आगामी दिनमा हामीलाई दुप्चेश्वरको विकास गर्न पालिकावासीको राम्रो साथको आवश्यक पर्छ । सबै मिलेर गाउँको समृद्धिमा लाग्न आग्रह गर्छु ।
हामीले संविधान दिवस र दसैँ पर्वको अवसर पारेर यही असोज २ देखि ८ गतेसम्म श्रमसप्ताह गर्ने कार्यपालिकाले निणय गरेका छौं । जस अनुसार सबै वडाका जनप्रतिनिधिहरु, बुद्धिजीवी, कर्मचारी लगायत सम्पुर्ण स्थानियवासीको सहभागितामा हामी ‘आफ्नो गाउँ आफै बनाउँ’ भन्ने नारा अनुसार गाउँगाउँको बाटो, मन्दिर, धारो, चौतारो, सर्वजनिक स्थानहरुको सरफाइ, संरक्षण र व्यवस्थापन गर्ने छौं ।




















प्रतिक्रिया