Logo

राजनीति

विनोद चौधरीले चुनाव जित्नुपर्ने १० कारण



काठमाडौं । फोर्ब्स म्यागेजिनमा नेपालको पहिलो अर्बपतिका रुपमा सूचिकृत उद्योगपति विनोद चौधरी राजनीतिमा पनि उत्तिकै सक्रिय छन् । २०६४ मा संविधानसभा सदस्यका रुपमा व्यवस्थापिका प्रवेश गरेका चौधरी ०७४ मा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य बनेका छन् ।

पार्टीको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका चौधरीले यस पटक प्रतिनिधिसभा प्रत्यक्षतर्फ निर्वाचन लड्ने निश्चितप्रायः छ । त्यसका लागि तीन ठाउँबाट उनको नाम सिफारिस भएको छ । चौधरीको नाम नवलपरासीको क्षेत्र नं. १ का साथै नवलपुर निर्वाचन क्षेत्र नं. १ र २ बाट प्रत्यक्षतर्फ उम्मेदवारमा सिफारिस भएको छ ।

कांग्रेस नेता चौधरीले पार्टीको निर्णय अनुसार आफू जहाँबाट पनि चुनावमा उठ्न तयार रहेको बताउँदै आएका छन् । कांग्रेसले अघिल्लो पटक समानुपातिक सूचीमा रहेका नेताहरुलाई यसपटक नदोहो¥याउने नीति लिएको छ । कांग्रेस नेता चौधरी २०७४ सालमा समानुपातिकतर्फ सांसद बनेका हुन् । चौधरीले टिकट पाउने पक्कापक्की भए पनि निर्वाचन क्षेत्र भने यकिन भईसकेको छैन ।

राजनीतिक यात्रा

वि.सं.२०४६ सालको ऐतिहासिक जनआन्दोलनमा चौधरी बहुदलीय राजनीतिक व्यवस्था स्थापनाका लागि संघर्षको मैदानमा ओर्लिएका थिए । नेपाली कांग्रेसका शीर्षस्थ नेताहरूको सम्पर्कमा रहेर उनले व्यवसायिक क्षेत्रको नेतृत्व गरेका थिए । त्यतिबेला आन्दोलनमा उत्रिएका कारण तत्कालिन सरकारले उनलाई अनेक दुःख दिएको थियो भने उनले भूमिगत शैलीमा समेत काम गर्नु परेको थियो । २०४८ सालमा भएको निर्वाचनमा नेपाली कांग्रेसको बहुमतको सरकार बनेपछि उनी तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आर्थिक सल्लाहकारको हैसियतमा काम गरेका थिए ।

आर्थिक उदारीकरण, खुला बजार अर्थतन्त्रको नीतिगत परिवर्तनक ाबिशेष बिषयहरुमा उनले कोइराला सरकारसँगै रहेर काम गरेका थिए । नेपाली कांग्रेसका सस्थापक नेता कृष्णप्रसाद भट्टराईसँग विनोद चौधरीको विशेष सम्बन्ध थियो भन्ने कुरा उनको आत्मकथामै लेखिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ जस्ता निजी क्षेत्रका नेतृत्वदायी संस्थाहरुको अध्यक्षको भूमिका निर्वाह गरिसकेका चौधरी नेपालको आर्थिक समृद्धिको पक्षमा चार दशकदेखि निरन्तर क्रियाशील छन् ।

२०६४ मा चौधरी संविधानसभामा प्रवेश गरेका थिए । २०४८ सालमा शुरू गरिएको आर्थिक नीति र आर्थिक समृद्धिका नीतिहरूका विरूद्ध संविधानमै गलत नीति लिइन सक्ने अवस्था देखिएपछि निजी क्षेत्रका केही अगुवाहरु विभिन्न पार्टीबाट संविधानसभामा गएका थिए, जसको उदेश्य नेपाली कांग्रेसले लिएको आर्थिक नीतिको पक्षमा काम गर्नु थियो ।

२०७४ सालको आमनिर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसका सभापति शेर बहादूर देउवाले पत्र लेखेर विशेष अनुरोध गरेपछि चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । कांग्रेसले चौधरीलाई प्रतिनिधिसभामा समानुपातिक सांसद मनोनित गरेर सम्मान गरेको थियो । चौधरीलाई कांग्रेमा प्रवेश गराउन तत्कालीन महामन्त्री डा. सशांक कोइराला र भारतका लागि पूर्व राजदूत दीपकुमार उपाध्यायले पनि पहल लिएको बताइन्छ । कोइराला सहित नेता रामचन्द्र पौडेल एवं बालकृष्ण खाणलगायतले पनि चौधरीलाई कांग्रेसमा ल्याउन पहल गरेका हुन् ।

२०७४ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन उनी देशभरका चुनावी सभाहरुमा पुगेका थिए । उनको विशेष ध्यान भने नवलपुरमै थियो । कांग्रेसले देशभरबाट पराजय भोगिरहँदा पनि नवलपुर निर्वाचन क्षेत्र नम्बर १ बाट तत्कालिन महामन्त्री डा. शशांक कोइरालालाई विजयी गराउन चौधरीको विशेष भूमिका रहेको भन्दै उनको सफलताको प्रशंसा गरिएको थियो । नवलपुर १ मा चौधरीको औद्योगिक ग्राम रहेको छ जहाँ तीनहजार भन्दा धेरै स्थानीयले रोजगारी पाएका छन् । २०७८ मंसिरमा सम्पन्न कांग्रेसको महाधिवेशनबाट चौधरी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । अहिले नेताचौधरी आसन्न मंसिर ४ मा हुने तय भएको चुनावको तयारीमा जुटेका छन् ।

विनोद चौधरी लेखक पनि

विनोद चौधरी नेपालका एक्ला डलर अर्बपति हुन् । नेपालमा सबैभन्दा सम्मानित समाजसेवी हुन् । र, अहिले देशको आर्थिक विकासका लागि समर्पित राजनीतिज्ञ पनि । यस बाहेक पनि उनको परिचय छ– लेखक विनोद चौधरी । वि.सं. २०६९ सालमा चौधरीले “विनोद चौधरीः आत्मकथा” शीर्षक रहेको आफ्नो आत्मकथा पुस्तक प्रकाशन गरेका थिए । यस पुस्तकमा उनको परिवार र चौधरी ग्रुपको आरोह–अवरोहको कथा समेटिएको छ ।

यसैगरी आफ्नो जीवनका निर्णायक मोड, व्यावसायिक फड्को, राजनीतिक संलग्नता, बहुराष्ट्रिय कम्पनी निर्माण आदि कुराहरूलाई प्रस्तुत गरेका छन् । यो पुस्तक अंग्रेजी, हिन्दी, सर्वियन, रसियन, मंगोलियनलगायतका सातभाषामा प्रकाशित भइसकेको छ ।

विनोद चौधरीले चुनाव जित्नुपर्ने १० कारण

१. नेपालको अहिलको प्राथमिकता आर्थिक विकास हो । आर्थिक विकासको नेतृत्व प्रदान गर्न सबैभन्दा प्रभावकारी व्यक्ति विनोद चौधरी हुन् । चौधरीले काम गरेर देखाएका छन् । उनी देशको विकासका काम गरेर देखाउन प्रतिवद्ध छन् ।

२. हाम्रा धेरैजसो नेता सांसद, मन्त्री बनेर कमाउने सपना देख्छन् । आजसम्म भएको पनि यहि नै छ । त्यसैले देशमा भ्रष्टाचारको खोलो बगेको छ । विनोद चौधरी जस्ता व्यक्ति जसका लागि पैसा उनकै शब्दमा केवल अंक मात्रै हो, यस्ता व्यक्तिको सपना पैसा कमाउने हुँदैन । त्यसैले भ्रष्टाचारको अन्त्य गर्न विनोद चौधरीले जित्नुपर्छ ।

३. विनोद चौधरी देशका सबैभन्दा बढी समाजसेवा गर्ने समाजसेवी हुन् । भूकम्प, कोभिड, बाढीपहिरो लगायतका प्राकृतिक प्रकोपका बेला राहत बोकेर घरघर पुगेका थिए विनोद चौधरी । उनले भूकम्प प्रभावितका लागि ३ हजार घर निर्माण गरिदिएका छन् ।

४. विनोद चौधरी जस्ता बिलिनियर व्यक्ति सांसद बनेपछि देशको आर्थिक विकासका निम्ति विश्वमा प्रयोगमा आएका नयाँनयाँ प्रयोगहरु नेपालमा भित्रिन सक्छन् ।

५. स्वयम् अर्बपति व्यक्ति सांसद बन्दा धनसम्पत्ति आर्जन गर्न राजनीतिमा आएको नभइ मुलुकमा राजनीतिक तिथि बसाल्नकै लागि आएकाहुन् भन्ने सोझै ठहरिन्छ ।

६. विश्वभरका विकासका परियोजना कार्यान्वयनसम्बन्धी अनुभव बटुलेका व्यक्ति सांसद बन्दा नेपालका सन्दर्भमा पनि त्यस्तै परियोजना निर्माण तथा कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।

७. राष्ट्रलाई वार्षिक १५ अर्ब राजश्व तिर्ने व्यापारिक समूहका मालिक सांसद बन्दा सबै नागरिक र सबै निकायमा कर तिरेर राष्ट्रप्रति जिम्मेवार हुनुपर्छ भन्ने सन्देश जान्छ । साथै सबैले यो दायित्व महसुस गर्न सक्छन्, जसबाट मुलुकले आर्थिक रुपमा थप उचाई लिन सक्छ ।

८. आम जनताको चाहना मुलुकको आर्थिक विकास र समृद्धि भएकोले अर्थतन्त्रबारे विश्वका अनुभव बटुलेका व्यक्ति सांसद बन्दा देशलाई फाइदै हुन्छ ।

९. अन्तर्राष्ट्रिय स्तरमा नेपालका नेताहरुमध्येकै सबैभन्दा राम्रो सम्बन्ध भएका व्यक्ति सांसद बन्दा मुलुकको वैदेशिक सम्बन्ध पनि सुमधुर हुन्छ । जसबाट देशले विभिन्न देशबाट फाइदा लिन सक्छ ।

१०. युवाहरुलाई व्यवसायमार्फत आत्मनिर्भर बन्न चौधरीले आफ्नो अनुभव साट्छन्, जसबाट मुलुकमा विद्यमान बेरोजगारी समस्या घट्न सक्छ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार १७:२९   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।