Logo

अर्थ

पिपुल्स हाइड्रोपावरको आईपीओ बाँडफाँट, ७ लाखभन्दा बढीकाे हात खाली



काठमाडाैं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) आज दिउँसो बाँडफाँट गरिएको छ । कम्पनीको आईपीओ आज धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलको काठमाडौंको नक्सालस्थित कार्यालयमा बाँडफाँट गरिएको हो।

कम्पनीले गत कात्तिक २५ गतेदेखि कात्तिक २९ गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ५६ लाख ६ हजार ३९० कित्ता आईपीओ निष्काशन गरेको थियो । यसमा आयोजन प्रभावित स्थानीयका लागि छुट्याइएको सेयर बाँडफाँट गरी बाँकी रहेको ८ लाख ६ हजार ३९० कित्तामा समावेश गरिएको थियो।

कम्पनीले कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने २ लाख ८० हजार ३२० कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशतले हुन आउने १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएको थियो । बाँकी ५१ लाख ५७ हजार ८८० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।

उक्त आईपीओमा १२ लाख ३० हजार ६०३ आवेदकले आवेदन दिएका थिए । जसमा १२ लाख २७ हजार ५९ आवेदकको मात्रै आवेदन सदर भएको छ। बाँकी ३ हजार ५४४ आवेदकको आवेदन बदर भएको छ।मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँट गरिएको छ ।

गोलाप्रथाबाट बाँडफाँट गर्दा भाग्यमानी ५ लाख १५ हजार ७८८ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। सदर आवेदकमध्ये ७ लाख ११ हजार २७१ आवेदकको हात खाली भएको छ।यो आईपीओ अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ । अन्तिम नतिजा धितोपत्र बिक्री गर्ने कम्पनी र धितोपत्र बिक्री प्रबन्धकको वेबसाइटमा र सीडीएससीको https://iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।

प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार  ४ : ४९ बजे