काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सत्ता गठबन्धनकै उम्मेदवार राष्ट्रपतिमा पनि निर्वाचित हुने बताएका छन् । उपमहासचिव शर्माले माओवादी केन्द्र अब गठबन्धन फुटाउने र जोड्ने खेलमा नलाग्ने समेत बताए ।
प्रतिनिधिसभाको शनिबारको बैठकपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले राष्ट्रपतिको निर्वाचनमा दलको हृवीप नलागे पनि दलको निर्णय नै नमान्ने मतदाता नहुने बताए । ‘सरकारमा जुन गठबन्धन छ, त्यसको बीचमा छलफल र सहमति भएर अघि जाने कुरा हो । हामी गठबन्धनको सहमतिमै अघि जान्छौँ । निर्वाचनमा जसको बहुमत हुन्छ, उसैले जित्ने हो, अहिले सरकारसँग बहुमत छ । सरकारमा भएका दलले प्रस्ताव गरेको व्यक्ति नै राष्ट्रपति बन्ने हो,’ उनले भने ।
अहिले राष्ट्रपतिको निर्वाचनको विषय छलफलमै नआएको समेत बताए । अब बल्ल केही दिनपछि राष्ट्रपतिको निर्वाचनको विषयमा छलफल हुने उनले बताए । ‘दलहरूको बीचमा छलफल हुन्छ, त्यो प्रतिपक्षसहितको सहमतिमा पनि राष्ट्रपतिको चयन हुनसक्छ,’ उनले भने, ‘अहिले हाम्रो गठबन्धनको सरकार छ, गठबन्धनकै उम्मेदवार राष्ट्रपति कुरा निश्चित नै छ ।’




















प्रतिक्रिया