Logo

प्रमुख समाचार

सभापति देउवाको आलोचना गर्दै सकियाे शेखर पक्षको बैठक, मंगलबार पुनः बस्ने



काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहको बैठक सकिएको छ । काठमाडौंको बत्तिसपुतलीस्थिति अनुपम फुटल्याण्डमा आज (आइतबार) बिहान बसेको बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल भएको नेताहरुले बताए ।

प्रधानमन्त्रीलाई कांग्रेसले दिएको विश्वासको मत, पार्टी नेतृत्वको कार्यशैली, आगामी माघ १५ गते बस्ने केन्द्रीय समिति बैठकलगायतका विषयमा छलफल भएको नेता अर्जुननरसिंह केसीले जानकारी दिए । उनका अनुसार यी विषयमा केन्द्रीत भएर समूहका नेताहरुले आ–आफ्नो धारणा राखेका छन् ।

यस्तै आगामी मंगलबार पुनः बसेर समूहको रणनीति तय गरिने केसीले बताए । बैठकमा बोल्ने अधिकांश नेताहरुले प्रचण्डलाई विश्वासको मत दिएको सन्दर्भमा सभापति शेरबहादुर देउवाको आलोचना गरेका थिए । नेता शेखर कोइरालाले प्रधानमन्त्री प्रचण्ड विश्वासको मत दिएर पार्टीले गल्ती गरेको निष्कर्ष बैठकमा सुनाएका थिए । यसैगरी यस्तो निर्णय गर्नु नेतृत्वको कमजोरी भएको भन्दै अन्य नेताहरुले पनि सभापतिको कार्यशैलीको आलोचना गरेका थिए ।

देउवाले पार्टीबाट प्रचण्डलाई विश्वासको मत दिने निर्णय गराएका थिए । उक्त निर्णयप्रति असन्तुष्ट रहेका संस्थापन इतर समूहका नेताहरुले पनि विश्वासको मत भने प्रचण्डलाई दिएका थिए । यसैगरी संसदीय दलको निर्वाचनमा आफ्नै समूहबाट धोका भएको विषयमा समेत छलफल भएको थियो ।

प्रकाशित मिति : ८ माघ २०७९, आईतवार १२:२७   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।