Logo

मनोरञ्जन

प्रदीप खड्काको नयाँ फिल्म ‘कामिनो’को थिम पोस्टर सार्वजनिक



काठमाडौं । अभिनेता प्रदीप खड्कालाई दर्शकले अब नयाँ फिल्म ‘कामिनो’ मा हेर्न पाउने भएका छन् । दीपक ओलीको निर्देशनमा निर्माण हुने ‘कामिनो’को बुधबार सामाजीक संजालमार्फत थीम पोस्टर सार्वजनिक गरिएको छ ।

एक्सेस नेपाल फिल्मस्को निर्माण, पूर्ण लामा कृएटिभ डिरेक्टर र सुनील बिष्ट गौली कार्यकारी निर्माता रहेको फिल्मको स्क्रिप्ट महेश दवाडीले लेखेका हुन् । अभिनेता प्रदीपलाई आफ्नो फिल्ममा अभिनय गराउन निर्माता, निर्देशकहरु लालायीत हुने गरे तापनि ‘प्रेम गीत–३’ पछि उनले कुनै फिल्म साइन गरेका थिएनन् ।

स्क्रिप्ट, टिम र क्यानभास मन परेकाले प्रदीप यो फिल्म गर्न राजी भएको बताइएको छ । प्रदीप र ‘कामिनो’ निर्माण पक्षबीच गत शुक्रबार औपचारिक सम्झौता भएको थियो । नेपाल र ल्याटिन अमेरिकाका विविध स्थानमा छायांकन हुने फिल्म प्रेम, रोमान्स र सस्पेन्सले भरिएको निर्देशक ओलीले बताएका छन् ।

चैत्र तेश्रो साताबाट छायांकन गर्ने लक्ष्य राखिएको फिल्म सौरभ लामाले खिच्ने छन् । फिल्ममा एसडि योगी र अलिस कार्कीको संगीत, सम्राट बस्नेतको द्धन्द्ध निर्देशन र दिनेश प्रकाश महराको प्रोडक्शन डिजाइन रहेको छ । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको फिल्मको सहायक निर्देशकमा अमृतमान ओली छन् ।

स्क्रिप्ट लेखनमा लेखक दवाडीलाई कुञ्जन भट्टराईले सघाएका छन् । फिल्मकाे हेराेइन लगायत अन्य कलाकार तथा प्राविधिक चयन कार्य छिट्टै समापन गर्ने तयारी निर्माण पक्षको छ ।

प्रकाशित मिति : माघ ११, २०७९ बुधबार  ९ : ०३ बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।