Logo

समाचार

प्रभु र एलएनटीको लाइसेन्स दूरसञ्चारले गर्‍यो खारेज



नेपाल दूरसञ्चार प्राधिकरणले प्रभु डिजिटल लिमिटेड, कमलादी काठमाडौँ र एलएनटी इन्फोटेक प्रालीको लाइसेन्स खारेज गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै उक्त दुई कम्पनीलाई दिइएको अनुमति पत्र खारेज गरिएको जनाएको हो ।

इन्टरनेट (इमेलसहित) प्रभु डिजिटल (अनुमतिपत्र नं फि.ज १–१२१) र एलएनटीले (अनुमतिपत्र नं फि ज १–१२२) नवीकरणका लागि नियमानुसार निवेदन पेस नगरेको भन्दै प्राधिकरणले अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) बमोजिम स्वतः खारेज भएको जनाएको छ ।

साथै इन्टरनेट (इमेलसहित) सेवा सञ्चालन गरेबापत नियमानुसार तिर्न र बुझाउन कुनै दस्तुर देखिएमा उक्त रकम ३० दिनभित्र तिर्नसमेत प्राधिकरणले निर्देशन दिएको छ । अन्यथा बाँकी बक्यौता रकम प्रचलित कानूनअनुसार असुलउपर गरिने प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखाले जनाएको छ ।

यसअघि माघ १६ गते प्राधिकरणले लाइसेन्स नवीकरण नगरेको भन्दै केसिएन नेट प्राली बौद्धलाई दिइएको लाइसेन्ससमेत खारेज गरेको थियो ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार १९:००   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।