Logo

प्रमुख समाचार

सङ्घीय शिक्षा ऐनलाई छिट्टै संसदमा पेस गर्छौं : प्रधानमन्त्री प्रचण्ड



काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकभित्र राजनीतिक चेतना विस्तार गर्दै जनतालाई जागृत तुल्याउनका लागि शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको छैटाैँ राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै उनले शिक्षक पेसालाई मर्यादित बनाउनका लागि सरकारका तर्फबाट पहल भइरहेको जानकारी दिँदै सङ्घीय शिक्षा ऐनलाई छिट्टै सङ्घीय संसद् पेस गर्ने तयारी भइरहेको बताए ।

उनले नेपालको राजनीतिका उच्च पदमा रहेका धेरैजसो व्यक्ति शिक्षक पृष्ठभूमिबाटै आएको समेत स्मरण गरे । मुलुकको निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उनले अब आर्थिक सामाजिक तथा अन्य महत्वपूर्ण कामलाई अगाडि बढाइने जानकारी दिए ।

हालैको मन्त्रिपरिषद्को बैठकले जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनका शहीदलाई राष्ट्रिय शहीद घोषणा गरेको जानकारी दिँदै प्रचण्डले सबै आन्दोलनको उचित सम्मान गरिएको बताए ।

शान्ति सम्झौता, त्यसको नेतृत्वकर्ता र संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने शक्तिलाई असफल बनाउने र घेरा हाल्ने प्रवृत्तिलाई असफल बनाउन क्रान्तिकारी शक्तिबीचमा साझा मत जरुरी रहेको उनको भनाइ छ । प्रधानमन्त्रीले जनविरोधी यस्ता कार्यकाविरुद्ध निरन्तर निगरानी र सतर्क हुनु जरुरी रहेको बताए ।

विगतमा घेरा हालेर सखाप पार्नेहरु नै यतिबेला पनि पुनः षड्यन्त्र गरिरहेको उल्लेख गर्दै प्रचण्डलेले विभिन्न धारामा विभक्त माओवादी शक्तिलाई पुनः एक ठाउँमा आउन त्यसले मद्दत गरेको प्रचण्डले बताए । विगतमा विविध कारणले पार्टी विभाजन हुन जाँदा जनतामा भ्रम पर्न गएकाले कमजोर देखिए पनि एउटै विचारमा केन्द्रित रहेका शक्ति पुनः एक ठाउँमा आएर मिल्नैपर्ने प्रचण्डले बताए ।

“निषेध गर्ने रुपमा नभई त्यसको समीक्षा गराैँ । निष्पक्ष ढङ्गले समीक्षा गराैँ । जुनसुकै धारमा लागेर ज्यान गुमाउनेलाई शहीदका रुपमा सम्मान गरौँ । उनीहरुको विचारलाई आत्मसात् गराैँ” प्रचण्डले भने । प्रधानमन्त्री प्रचण्डले फेरि एकपटक माओवादी शक्ति एकताबद्ध भएर परिवर्तनलाई सुदृढ बनाउने समाजवादको आधार बनाउने काममा सफल हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेताहरु गिरिराजमणि पोखरेल, नारायण दाहाल लगायतले परिवर्तनको प्रवाहको संरक्षणका लागि गाउँ, टोलटोलमा खटिने शिक्षकको भूमिका महत्वपूर्ण हुने बताए ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष शङ्कर अधिकारीले राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धि खारेज गराउन लागिपरेका शक्तिलाई तह लगाउन शिक्षक सङ्गठनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार १५:११   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।