काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र वैदेशिक लगानीका लागि चिनियाँ सरकारको छाता संस्था ‘काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रे’ (सीसीपीआईटी)का उपाध्यक्ष झाङ साओगाङबीच सोमबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।
भेटमा व्यापार तथा लगानी साझेदारीका विषयमा छलफल भएको थियो । त्यसक्रममा उपाध्यक्ष झाङलाई नेपालमा स्वागत गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भ्रमण सफलताको शुभकामना दिएका थिए ।
साथै नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय व्यापार साझेदार मुलुकको रुपमा चिनियाँ लगानी नेपालमा सधैँ स्वागत गरिने मन्त्री श्रेष्ठले बताएका थिए । यस्तै नेपालमा हाल लगानीमैत्री वातावरण भएको पनि उनले स्मरण गराएका थिए ।
केरुङ र तातोपानी नाका व्यवस्थित बनाएर आयात तथा निर्यातलाई समेत सहज गर्नुपर्ने आवश्यकता उपप्रधानमन्त्री श्रेष्ठले औंल्याएका थिए । चीन नेपालको दोस्रो ब्यापारिक साझेदार मुलुक रहेको र चीन नेपाल ब्यापार घाटा धेरै भएकाले त्यसलाई घटाउन आपसी समझदारीका आधारमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।
भेटको क्रममा उपाध्यक्ष झाङले झण्डै चार वर्ष लामो कोभिड संक्रमणले चीनको वैदेशिक लगानी तथा ब्यापारमा असर परे पनि चीन अब कोभिडबाट खुला र सहज भएको बताए । कोभिडका कारण चीन र नेपालबीच भ्रमण आदानप्रदान हुन नपाएको र त्यसबाट ब्यापारमा समेत असर परेको उनले बताए । नेपाल आफूहहरूको पुरानो र नजिकको मित्र भएको र नेपालमा थप लगानीको निश्चितता गर्नु आफ्नो भ्रमणको उद्देश्य भएको झाङको भनाइ थियो ।




















प्रतिक्रिया