काठमाडौं । वैशाख १ देखि प्रदर्शनमा आउने तीन फिल्ममध्ये ‘जारी’ले आक्रामक ओपनिङको संकेत गरेको छ । मल्टीप्लेक्सहरुमा उच्च शो पाएको फिल्मको एड्भान्स टिकट बुकिङ उत्साहजनक देखिएको छ ।
विशेषगरी, पूर्वको विर्तामोड क्षेत्रमा फिल्मको आक्रामक रुपमा टिकट विक्री भइरहेको छ । पूर्वी क्षेत्रको कथा उठाइएकाले पनि त्यहाँ फिल्मप्रति दर्शकको आकर्षण देखिएको हुनसक्छ ।
देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सको विर्तामोड हलमा फिल्मले पाएको १० शोमध्ये एक शो सोल्डआउट र बाँकी ९ शो हाउसफुलको संघारमा छ ।
क्यूएफएक्सको विराटनगर हलमा पनि सिट ‘बुक’ गर्ने दर्शक राम्रो देखिएका छन् भने नारायणगढ, बुटवल र काठमाडौंका केही हलको शो पनि हाउसफुलको मुखमा छन् । क्यूएफएक्स चेनमा मात्र यो फिल्मले ६६ शो पाएको छ ।
बिहीबार साँझसम्म क्यूएफएक्सका प्रायः शो हाउसफुल हुने अवस्था देखिन्छ । राजधानीका वान् सिनेमाज, बिग मुभिज, एफक्यूब आदि मल्टीप्लेक्सहरुमा पनि फिल्मको एड्भान्स टिकट बुकिङ सुखद छ । एड्भान्स बुकिङमा देखिएको क्रेजले फिल्मले पहिलो दिन एक करोडभन्दा बढी कलेक्सन गर्ने सम्भावना देखिन्छ ।
बलियो स्टारकास्ट, ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङको निर्माण, चर्चित कवि तथा लेखक उपेन्द्र सुब्बाको पहिलो निर्देशन रहेको यस फिल्मले विदेश राइट्सबाटै लगानी सुरक्षित गरिसकेको छ । अब नेपालबाट हुने सम्पूर्ण कमाई निर्माताको मुनाफा हुनेछ ।





















प्रतिक्रिया