Logo

राजनीति

ठूला तथा मझौला उद्योगको समस्या समाधान गर्छौँ : मुख्यमन्त्री कार्की



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छिमेकी मुलुकको कच्चा पदार्थबाट सञ्चालन हुने ठूला तथा मझौला उद्योगको समस्या समाधानका लागि उचित पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज आयोजित उद्योग सङ्घ र सङ्गठनमा आवद्ध उद्योगी एवं व्यापारीसँगको छलफलमा उनले उद्योग सञ्चालनका क्रममा देखिने विभिन्न समस्या समाधानका लागि प्रदेश सरकारको क्षेत्र अधिकारभित्र पर्ने कार्यलाई आवश्यक विधि विधान बनाउने तथा सङ्घीय सरकार समक्ष आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले उद्योग क्षेत्रमा गरिएको अघोषित लोडसेडिङको समस्या समाधान गर्न आजै सङ्घीय ऊर्जा मन्त्रालय तथा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसँग कुरा गरेको तथा व्यापारीसँग आवश्यक छलफल एवं भेटघाटका लागि व्यवस्थापन गर्न पहल भएको जानकारी दिए ।

उद्यमीहरुले लिएको ऋणको ब्याज दर घटाउने सम्बन्धमा नेपाल राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरसँग विचार विमर्श हुनुका साथै समस्या समाधानका लागि आग्रह गरेको उनले जानकारी दिए । मुख्यमन्त्री कार्कीले पुनः यस सम्बन्धमा उद्यमीको टोलीसँग अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरलाई छलफल गराउने विश्वास दिलाए ।

उनले निजी क्षेत्र बलियो, सुदृढ र चिन्तामुक्त भए मात्र मुलुकको आर्थिक विकास एवं समृद्धि कायम हुने विश्वास व्यक्त गरे । मुख्यमन्त्री कार्कीले कोशी प्रदेश नामकरणका सम्बन्धमा पहिचानवादीको विरोध प्रदर्शन हिंसात्मक एवं गालीगलौज र दुव्र्यवहार गर्ने विषयमा उद्योगी व्यापारी एवं विराटनगरवासीको स्पष्ट धारणा आउनुपर्नेमा जोड दिए । प्रदेश सरकारले राखेको प्रदेशको नामका सम्बन्धमा गल्ती वा ठीक गरेको विषयमा जनतासमक्ष जानकारी दिन उनले आग्रह गरे ।

–

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार २१:१८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।