Logo

प्रमुख समाचार

काठमाडौं महानगरले फोड्यो विद्यार्थी संगठनले विद्यालय शाखामा लगाएको ताला



काठमाडौं । कम्युनिस्ट क्रान्तिकारी विद्यार्थी युनियन (क्रान्तिकारी) ले संस्थागत विद्यालय शाखामा लगाएको तालाबन्दी काठमाडौं महानगरपालिकाले फोडेको छ।

बिहीबार दिउँसो युनियनले महानगरको संस्थागत विद्यालय शाखामा तालाबन्दी गरेको थियो। बिहीबार साँझै नगर प्रहरीले उक्त ताला खोलेको मेयर बालेन शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले बताए ।

शुक्रबारदेखि सबै विद्यालयहरूमा ‘बुक फ्री डे’ सुरूआत हुन लागेको र त्यसका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री सोही विद्यालयको कोठामा भएको हुँदा आजै ताल्चा खोलिएको महानगरले जनाएको छ।

बुधबार महानगरले विद्यालयमा राजनीतिक दल तथा भ्रातृ संगठनका कार्यक्रम नगर्न विभिन्न भ्रातृ संगठन तथा राजनीतिक दललाई निर्देशन दिएको थियो। युनियनले भने कार्यक्रम गर्न पाउनुपर्छ भन्दै महानगरको संस्थागत विद्यालय शाखामा तालाबन्दी गरेको थियो।

महानगरले भ्रातृ संगठनको कार्यक्रम गर्न दिने विद्यालयका प्रधानाध्यापकलाई विभागीय कारबाही गर्ने बताएको थियो।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार २२:२७   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।