काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गएको दुई हप्ता अघि शिक्षालाई सीपसँग जोड्ने भन्दै शुक्रबार पाठ्यपुस्तक बिना विद्यालयमा सीपमुलक शिक्षा दिने नीति जारी गरेको छ ।
नमूना विद्यालय तोकेर महानगरले केही स्थानमा सीपमुलक शिक्षाको काम सुरु पनि गरेको छ । काठमाण्डौंको पुरानो विद्यालय दरबार हाइ स्कूलअन्तर्गतका संस्कृत माध्यमिक विद्यालयलाई नमुना विद्यालय बनाउने महानगरपालिकाको घोषणासँग संस्कृत मावि विद्यालयले कृषि क्षेत्रअन्तर्गतको सीपमुलक शिक्षामा सहरी तरकारी खेती सुरुवात गरेको छ। विद्यार्थीहरुले योथ फर एग्रो वयलफियरको प्राविधिक सहयोगमा विद्यालय परिसरमै तररकारी खेती सुरु गरेका छन् ।
महानगरको पाँच लाख बजेटमा संस्कृत माविले सहरी खेती अन्तर्गत तरकारकारी खेती अगाडि बढाएको हो । संस्कृत माविको परिसरमा विद्यार्थीहरुले रोपेको तरकारी खाने बेला भइसकेको छ । परिसरमा उत्पादन भएको साग खान थालिएको छ । खुर्सानी, भिण्डीजस्ता तरकारीका विरुवामा फूल फुल्न थालेको छ । अरु विरुवा हुर्किरहेका छन् । विद्यालयको यो उत्पादन महानगरपालिकाले २०८० बैशाख १२ गतेबाट माध्यमिक कक्षाका लागि कार्यान्वयनमा ल्याएको छोटो अवधिको सीपमूलक तालिमका लागि अवलोकन योग्य बनेको छ ।
नमूना विद्यालयका लागि महानगरबाट प्राप्त अनुदानबाट विद्यालयले ५ लाख रुपैयाँ सहरी तथा कौसी तरकारी खेतीमा लगानी गरेको विद्यालयका सहायक प्रध्यानाध्यापक निश्चल अधिकारीले जानकारी दिए । विद्यालयका प्रधानाध्यापक शिव अधिकारीकाअनुसार कम्पाउण्डको खाली ठाउँमा तरकारीका विरुवा रोपिएका छन् ।
खेतीका लागि काम गर्न विद्यार्थीहरुको समूह निर्माण गरिएको छ । परामर्शदाता तथा विज्ञहरुसँग सहयोग लिइएको छ । तरकारी रोप्नकै लागि भनेर २ वटा टावर निर्माण गरिएका छन् । एउटा टावरमा करिब ३५ वटा प्वाल छन् । ती हरेक प्वालमा तरकारीका विरुवा रोपिएका छन् । १ महिनामा तरकारी उत्पादन सुरु भएको प्रध्यापक अधिकारी बताउँछन् ।
नमूना विद्यालयका लागि महानगरले यी २ वटा विद्यालय र क्षेत्रपाटीको कन्या माध्यमिक विद्यालयलाई चालु आर्थिक बर्षमा ३० लाख रुपैयाँ उपलब्ध गराएको थियो । सहरी तथा कौसी खेतीमा यो विद्यालयसँगै अन्य विद्यालयमा पनि विद्यार्थीहरुको रुचि देखिएको छ । बालाजुमा रहेको तरुण माध्यमिक विद्यालयका ३० जना विद्यार्थीले गएको शुक्रबारबाट यस सम्बन्धी प्रशिक्षण लिन सुरु गरेका छन् । कक्षा ९ मा ८५ जनाभन्दा धेरै विद्यार्थी रहेकोमा उनीहरुको रुचिका आधारमा विद्यालयले सहरी तथा कौसी खेतीका लागि ३० जना विद्यार्थीहरुको समूह बनाएर संसकृत माविलाई पठाएको छ।
विद्यार्थीहरुलाई पाठ्यक्रममा आधारित माटो, मल र बीउका प्रकार चिनाउने, उत्पादन बढ्ने वातावरण र तत्वका विषयमा जानकारी दिने, जैविक मल बनाउन सिकाउने लगायत सीप सिकाइन्छ । प्रविधिमा आधारित खेती, माटो र मलको मिश्रण, विरुवाको हेरचाह, नर्सरी, विरुवामा थाङ्ग्रा लगाउने विषयमा विद्यार्थीलाई सीप दिइनेछ ।
महानगरले पुस्तक विहिन शुक्रबार कार्यक्रम अन्तर्गत थालेको तालिमबाट विद्यार्थीहरुले व्यवहारिक र जीवनउपयोगी सीप सिकाउन पहल सुरु भएको छ। कक्षा ९ मा नमूनाका रुपमा थालिएको ९० घण्टे तालिमका लागि कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली (हेयर स्टायल), काष्ठकला तथा नक्कासी (कुँदेर बेलबुट्टा भर्ने काम), पाक कलालगायत १० वटा क्षेत्र निर्धारण गरिएका छन् ।
फेसन डिजाइन र कपडा निर्माण, घरमा तार र बिजुली जडान (वायरिङ् एण्ड इलेक्ट्रिकल), विपद पूर्व तयारीका लागि भवन निर्माणको रैथाने (परम्परागत) कला, मोबाइल र विद्युतीय सामान, पाइप जडान तथा मर्मत, कला र मूर्तिकला विधा पुस्तकबिहीन शुक्रबारका तालिमका विधा हुन् ।
अहिले ११ वटा सामुदायिक विद्यालयहरुमा कक्षा ९ देखि १२ सम्म प्राविधिक धारतर्फका विषयहरु पठन पाठन भईरहेका छन् । बाल शिक्षा, आधारभूत शिक्षा र माध्यमिक शिक्षालाई थप जीवनोपयोगी र व्यावसायिक बनाउँदै लैजाने महानगरको शिक्षा सम्बन्धी नीति रहेको महानगरले जनाएको छ ।
तस्बिरहरु : तेज किराँती
प्रतिक्रिया