काठमाडौं । सरकारले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्दै जति वटा विषयमा एनजी (नन ग्रेड) आएको छ त्यो विषयमा मात्र परीक्षा दिनुपर्ने व्यवस्था गरेको छ । कक्षा १२ का विद्यार्थीले एनजी आएको विषयमा मात्र ग्रेडवृद्धि परीक्षा दिन पाउने भएका छन् ।
बिहीबार बसेको मन्त्रीस्तरीय बैठकले विद्यार्थीले दुई वा दुई भन्दा कम विषयमा एनजी आएको अवस्थामा सोही वर्ष र त्यस भन्दा माथि जति विषयमा एनजी ल्याउँछन् ती विषयमा मात्र तीन वर्षसम्म परीक्षा दिने पाउने निर्णय गरेको हो ।
एक पटक तोकिएको न्यूनतम ग्रेड प्राप्त गरेपछि सोही विषयमा दोहोर्याएर परीक्षा दिन उपयुक्त नहुने भएकोले संशोधन गरिएको बोर्डले जनाएको छ ।
सबै विषयको परीक्षा दिने गाह्रोले कतिपय विद्यार्थी पढ्न छोड्ने भएकोले कक्षा १२ पछिको ड्रप आउट रोक्नको लागि यो निर्णय गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । उनले भने, ‘कक्षा १२ पछिको ड्रप आउट रोक्ने र समग्र शिक्षा प्रणालीलाई सहयोग होस् भनेर विद्यार्थी मैत्री, विद्यार्थीको सुविधालाई ध्यानमा राखेर निर्णय गरिएको हो ।’
निर्देशिकाको यो व्यवस्थाले शैक्षिक गुणस्तरमा असर नगर्ने उनको जिकिर छ । अरु राष्ट्रहरुको व्यवस्थाहरु पनि अध्ययन गर्दा यस्तै व्यवस्था भएकोले गर्दा नेपालमा पनि त्यो सुविधा दिने निर्णय भएको बताए । निर्देशिकाको दफा ७ ९ङ० संशोधन गर्दै ‘नियमित तथा ग्रेडवृद्धि परीक्षामा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीहरुले जुन जुन विषयमा ग्रेड प्राप्त गर्न नसकेको हो सोही सोही विषयमा मात्र परीक्षा दिन पाउने व्यवस्था गरेको छ ।
प्रतिक्रिया