Logo

शिक्षा

आजदेखि १२ कक्षाको परीक्षा , कानुन मिचेमा सबै परीक्षा रद्ध



आजदेखि १२ कक्षाको परीक्षा शुरू हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको सबै तयारी पूरा भएको जनाएको छ ।

परीक्षामा तीन विषयमा नन ग्रेड (एनजी) ल्याएका समेत गरी ४ लाख ६७ हजार ३ सय ८९ परीक्षार्थी सहभागी हुँदैछन् । गत वर्षको भन्दा यो वर्ष करिब ७१ हजार परीक्षार्थी थपिएका छन् ।

परीक्षामा अनैतिक क्रियाकलाप गर्ने विद्यार्थीको सबै परीक्षा रद्द गर्ने र एक वर्षसम्म कुनै पनि परीक्षा दिन नपाइने गरी कानुनी व्यवस्था गरेको बोर्डले जनाएको छ । परीक्षामा नियमविपरीत कार्य गर्ने विद्यार्थीमाथि १ वर्षसम्म परीक्षा रद्ध र १ लाख रुपियाँसम्म जरिवानाको व्यवस्था गरेको छ ।

परीक्षामा १ हजार ४ सय ५७ केन्द्र कायम गरिएको छ । १७ हजार ४ सय ७२ जना सुरक्षाकर्मी र केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक निरीक्षक, सहयोगी र अन्य कर्मचारीसमेत गरी ३१ हजार जनशक्ति परिचालन हुनेछन् ।

तीन वा सोभन्दा बढी विषयमा ‘नन ग्रेडेड’ ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने भन्दै ६ विषयकै परीक्षा फारम भरिए पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरेसँगै अब नन ग्रेडेड ल्याएका विषयको मात्रै परीक्षा दिए पुग्ने भएको छ ।

बोर्डले लागू गरेको लेटर ग्रेडिङ प्रणालीअनुसार दुईभन्दा बढी विषयमा नन ग्रेडेड ल्याएका विद्यार्थीले पूरै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो । यसो गर्दा गत वर्ष भएको ग्रेड वृद्धि परीक्षामा विद्यार्थीको सहभागिता घटेर ड्रप आउट हुने सम्भावना भएपछि मन्त्रालयले निर्देशिका संशोधन गरेको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलवार ०८:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।