Logo

मनोरञ्जन

‘निर्माणमा असफल हुँदा निर्देशनमा सफल भए’



काठमाडौं । नृत्य निर्देशक हुँदै चलचित्र निर्देशक बनेकी रिनाशा राई राणा निर्देशित पहिलो चलचित्र ‘इन्टू मिन्टू लन्डनमा’ व्यावसायिक रूपमा सफल भयो ।

यद्यपि उनी निर्देशित दोस्रो चलचित्र ‘ज्याकी : आई एम ट्वान्टी वान’ को व्यापार निकै न्यून छ । गत वैशाख २१ देखि प्रदर्शनरत चलचित्र व्यावसायिक रूपमा असफल भएको निर्देशक राणाले नै अन्तर्वार्तामा स्वीकार गरेकी छन् ।

“चलचित्रले राम्रो प्रतिक्रिया पाइरहेको छ । यद्यपि व्यापारिक रूपमा सफल हुन् सकेका छैनौँ । तर दर्शककै सिफारिसमा चलचित्र भवनमा भीड बढ्ने विश्वास छ”, निर्देशक राणाले भनिन् । उनी चलचित्रभन्दा बाहिरको मान्छेबाट समेत सकारात्मक प्रतिक्रया पाइरहँदा दर्शकको उपस्थिति नहुँदा आश्चर्य चकित भइन् ।

उनले पहिलो चलचित्रले व्यापारिक रूपमा मुनाफा दिएता पनि निर्देशकलाई सन्तुष्ट पार्ने दोस्रो चलचित्र रहेको बताइन् । यद्यपि ‘ज्याकी ः आई एम ट्वान्टी वान’ समीक्षा पनि राम्रो पाएको छैन । “चलचित्र आइरहेको भन्दा फरक छ । दर्शकलाई नयाँपन मन पर्छ भन्नेमा विश्वस्त थियौँ । अहिले समय ठीक भएन कि भन्ने पनि लागिरहेको छ”, निर्देशक राणाले भनिन् । चलचित्रमा आफ्नो पात्रका लागि कलाकारद्वय धिरज मगर र जसिता गुरुङले दुई वर्ष नृत्यको प्रशिक्षण लिइन् ।

“चलचित्र भवनमा आइपुग्नुभएका दर्शकले मेहनत बुझ्नुभएको छ । यद्यपि दर्शकको भीड नदेखिँदा दुःख भने लागेको छ”, अभिनेता मगरले भने । यद्यपि उनले नेपालको नृत्यमा आधारित चलचित्रका रूपमा परिचित भएकामा असन्तुष्ट रहेको बताए ।

अभिनेत्री गुरुङले नयाँ विषयलाई दर्शकसम्म पुर्‍याउँदा यस्तो भएको हुन् सक्ने बताइन् । “एउटा पात्रलाई जीवन्त बनाउन हामीले गरेको मेहनत हेर्न दर्शक नआउँदा दुःख त लागेको छ । नेपाली चलचित्रमै परम्परागतभन्दा फरक रहेको यो निर्माण भएको छ”, अभिनेत्री गुरुङले भनिन् । चलचित्रमा अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डङ्गोल, राजु भुजु, सुजता राईलगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रकाशित मिति : बैशाख २७, २०८० बुधबार  ४ : ४४ बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।